काठमाडौं। नेपालको सुन्दरतालाई चिनाउन आयोजित फोटो प्रदर्शनीमा नेपालका विश्वविख्यात फोटोग्राफर च्याङ्वा लामा सम्मानित बनेका छन्। नेपाल सुन्दर छ भन्ने सन्देश दिन १०१ फोटोको बबरमहलस्थित आर्ट काउन्सिलमा आयोजित कार्यक्रममा फोटोग्राफर लामाले नेपाली समसामयिक फोटोग्राफी तथा फ्रेमिङमा दिएको योगदानको कदर स्वरुप सम्मान गरेको हो।

प्रमुख अतिथि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले फोटोग्राफर लामालाई सम्मान प्रदान गरेका हुन्। कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले नेपालको सुन्दरतालाई विश्वभर चिनाउन फोटो महत्त्वपूर्ण माध्यम रहने बताएका थिए। मन्त्री ज्ञवालीले प्राकृतिक, सांस्कृतिक र परम्परागत विविधता बोकेको नेपालको महत्त्व फोटोमार्फत प्रचार गर्नु अत्यन्त सुन्दर कुरा भएको समेत बताए।

ऐतिहासिक सम्पदा, परम्परा, साँस्कृतिक चाडपर्वहरू, प्राकृतिक सौन्दर्य, जीवनशैली, हिमाल, पहाड, तालतलैया, फूल, जनावर, चराचुरुङ्गी, जात्रा, पूजा लगायतका २९ जना फोटोग्राफरहरुले खिचेका सुन्दर फोटोहरुको प्रदर्शनी गरिएको थियो। ‘देशलाई हाम्रो खाँचो छ’ नामक संस्थाले उक्त फोटो प्रदर्शनीको आयोजना गरिएको थियो।


प्रकाशन मिति–२०७६ साल बैशाख २ गते सोमवार ।