काठमाडौंं। नेपालभाषाका ख्यातिप्राप्त कवि, भाषासेवी तथा बौद्ध अभियन्ता नातिबज्र बजाचार्यको बुधवार दुःखद निधन भएको छ। वीर अस्पतालमा उपचारको क्रममा नातिबज्रको निधन भएको हो।

भाषाप्रेमी अग्रज लेखक तथा संचारकर्मी बसन्त महर्जनका अनुसार नातिबज्रको ८० बर्षको उमेरमा बुधवार राति ८ बजेर ३० मिनेटमा निधन भएको हो।

विसं.२०२२ सालको भाषा आन्दोलनदेखि सक्रिय नातिबज्रले त्यस आन्दोलनलाई टेवा दिन काठमाडौंको भोटाहिटीमा नेपालभाषाको मात्र पत्रिका तथा पुस्तक पसल खोलेर नयाँ आयाम नै कायम गरेका थिए। जुन पसल भोटाहिटी दगुबहालमा अद्यावधिक रुपमा रहेको नै छ।

नेपालभाषाका कुनैपनि पत्रिका तथा पुस्तक चाहेमा नातिबज्रको पसल भोटाहिटी जानु भन्ने त्यो बेला देखि हालसम्म प्रचलन नै रहेको छ। युवा बौद्ध परिषद स्थापना गरेर बौद्ध  धर्मको प्रचार तथा संरक्षणमा समेत नातिबज्रको अत्यन्त योगदान रहेको छ।
प्रकाशन मिति–२०७५ साल पुष १८ गते बुधवार ।