काठमाडौं। जनस्तरवाटै जनताको सुपरस्टार घोषणा कार्यक्रम हुने भएको छ। आदिवासी नेवार जातिको भाषा, संस्कृति, कलाको उत्थान तथा नेपालभाषा चलचित्र क्षेत्रका कलाकारहरुको प्रोत्साहनको लागि नेपालभाषा सुपरस्टार घोषणा हुन लागेको हो।

यसको तयारीका ग्लोबल नेपाःनेटवर्कका अध्यक्ष सुनिलकुमार शाक्य र ग्लोबल नेपाःसुपरस्टार फाउन्डेसन अध्यक्ष सुरेन्द्र तुलाधर कम्मर कसेर लागिरहेका छन्। नेपालभाषा चलचित्रका एकजना पुरुष कलाकार र एकजना महिला कलाकारलाई सुपरस्टार घोषणा गर्ने तयारी भैरहेको जानकारी ग्लोबल नेपाःसुपरस्टार फाउनडेसनका अध्यक्ष सुरेन्द्र तुलाधरले भिजन संसार डटकमलाई दिएका छन्।

अध्यक्ष तुलाधरका अनुसार नेपालभाषा फिल्म इण्डष्ट्रीमा यो कार्य ऐतिहासिक हुने भएको छ। जसको टिक्का–टिप्पणी पनि अनेक भैरहेको र यसको विरोध गर्नेहरुको पनि कुनै कमी नभएको पनि उल्लेख गर्दै अध्यक्ष तुलाधरले यो भव्य तथा सभ्य कार्यक्रम अत्यन्त सफल बनाउन आफूहरु कटिवद्ध भएर लागिरहेको बताएका छन्।

दीर्घकालिन सोच अनुरुप बर्षेनी सुपरस्टार घोषणा गर्नका लागि अक्षयकोष नै स्थापना गरेर अगाडि बढन लागेको जानकारी पनि अध्यक्ष तुलाधरले दिएका छन्। त्यसका लागि यही असोज ३ गते ललितपुरको सिलौटी रिसोर्टमा कलाकार, सामाजिक अगुवा लगायतका विज्ञहरुको सामुहिक पिकनिक आयोजना गरेर कोष स्थापना गर्न पहल  कार्यक्रम भएको पनि अध्यक्ष तुलाधरले भनेका छन्।


प्रकाशन मिति–२०७५ साल भदौ ३१ गते आइतवार ।