काठमाडौं। नेपालमा अब राजाको तस्वीर भएको नोट चलन चल्तीबाट हटाउने तयारी गरिएको छ। नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरूलाई राजाको तस्वीर भएको नोट चलन चल्तीमा नल्याउन आइतबार निर्देशन दिएको हो।

तत्कालै यी नोटहरू प्रतिबन्धित भने हुने छैनन्। सर्वसाधारणले बैङ्कमा बुझाएकाहरू बैङ्कमार्फत राष्ट्र बैङ्कमा खिचेर त्यसलाई पुनःबजारमा नपठाउने नेपाल राष्ट्र बैङ्कको तयारी छ। नेपाल राष्ट्र बैङ्कले सर्वसाधारणबाट आएको राजाको तस्वीरसहितको नोट पुनः सर्वसाधारणमा प्रवाह नगर्न भनेको हो।

नेपाल राष्ट्र बैंकले राजाहरुको तस्वीर अंकित नोटलाई झूत्रे, मक्किएको, कुहिएको नोटको श्रेणीमा राख्दै (अर्थात् खोटा सिक्कासरह) प्रयोगमा नल्याउन निर्देशन दिएको हो। त्यस्ता नोटहरु सर्वसाधारणले बैंकमा बुझाउन सक्ने पनि राष्ट्र बैंकले जनाएको छ। बैंकमा आएका त्यस्ता नोटहरु सबै बैंकले नेपाल राष्ट्र बैंकमा बुझाउनु पर्ने निर्देशनमा उल्लेख छ।

सफा नोट नीति कार्यान्वयन भन्दै जारी निर्देशिकामा नेपाल राष्ट्र बैंकमा बुझाउन अप्ठेरो पर्ने बैंक तथा वित्तीय संस्थाहरुले नजिकै नोट कोष रहेको जुनसुकै बैंकमा गएर त्यस्ता नोट बुझाउन सकिने सुबिधा पनि केन्द्रीय नेपाल राष्ट्र बैकले दिएको छ। नेपाल राष्ट्र बैंकले झूत्रा र सफा नोट बर्गीकरण गर्न पनि बैंकहरुलाई भनेको छ। नोटमा स्टिच प्रयोग नगर्न पनि भनिएको छ।
प्रकाशन मिति–२०७७ साल जेठ १२ गते सोमवार ।