काठमाडौं। विश्वभरी महामारीको रुपमा फैलिदैआएको कृषिलाई ध्वंस्त बनाउने सलह किराको प्रकोप नेपालमा पनि आइपुगेको छ। नेपालका तराईका जिल्लामा शनिबारवाट सलहका बथान आइपुगेको हो।

बाली नष्ट गर्ने फट्यांग्राको हूल अर्थात सलहको हुल सर्लाही, बारा र पर्सामा शनिबार एकैसाथ देखिएको हो। सलह भेटिएलगत्तै प्रदेश २ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्राविधिकको टोली खटाएको छ। प्रदेश ५ को भारतीय सीमा क्षेत्र हुँदै रूपन्देही आएको सलहको हूल साँझपख कपिलवस्तु र पाल्पा पनि पसेको छ।

शनिबार बिहान रूपन्देहीको भैरहवा, रोहिणी, ओमसतिया, तिलोत्तमा र देवदह क्षेत्रमा सलह देखियो । दिउँसो बुटवल, मर्चवार र लुम्बिनी क्षेत्रमा पनि देखिएको छ। मध्याह्नसम्म फाट्टफुट्ट देखिएको सलह दिउँसो साढे ३ बजेपछि हूलका हूल आकाशमा उडेको देखिएको त्यहाँका स्थानीयहरुको भनाइ छ। पश्चिम गएको सलह कपिलवस्तु प्रवेश गरेको छ र उत्तरतिर पाल्पासम्म पुगेको अनुमान गरिएको छ।

उत्तरतिर चढेका सलह पहाड चढ्छन् वा फर्कन्छन् भन्नेमा विज्ञहरू अलमल छन्। ‘हूलका हूल सलह बुटवल र रूपन्देही जिल्लाका विभिन्न स्थानमा देखिएका छन्।  धान रोप्ने समय भएकाले तराईका धेरै खेत खाली छन्। खेतबारी खाली भएकाले धेरै कीरा आकाशमा मडारिएको हुन सक्ने विज्ञहरूको अनुमान छ। रूपन्देहीको देवदह, तिलोत्तमा, रोहिणीलगायत क्षेत्रका मकैबारी र तरकारी बारीमा भने सलह अडिएका छन्। देवदहको चरंगे, खैरेनी, ओमसतियाको वनगाईलगायत क्षेत्रमा रहेका मकैबारी पनि सलह कीराले ढाकिएका छन् । रोप्न ठिक्क पारेको धानको बीउसमेत सलहले खान थालेपछि किसान पिरोलिएका छन्।

वाग्मती प्रदेशका मकवानपुर, सिन्धुली र काभ्रेमा पनि शनिबार सलह देखिएका छन्। मकवानपुरको पूर्वी क्षेत्रको बकैया गाउँपालिकाको १ र २ धियाल र हात्तीसुढे क्षेत्रमा सलह देखिएको छ। सिन्धुलीको कमलामाई नगरका विभिन्न क्षेत्रमा पनि सलह देखिएको किसानहरुले बताएका छन्। काभ्रेको खानीखोला गाउँपालिकाको तालढुंगाबाट शनिबार दिउँसो वडा नम्बर २ तिर सलहका बथान उडेको देखिएको कृषि शाखा प्रमुख मनीष वडले भनेका छन्।


प्रकाशन मिति–२०७७ साल असार १४ गते आइतवार ।