काठमाडौं। नेपालमा अलपत्र परेका अष्ट्रेलियन नागरिकहरुलाई विमान चार्टर गरेर अष्ट्रेलिया लगेको छ। कोरोनाभाइरस रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले देशभर ‘लकडाउन’ गरेपछि नेपालमा अलपत्र परेका अष्ट्रेलियन नागरिकहरुलाई अष्ट्रेलिया लगेको हो।

अष्ट्रेलियन र नेपाली मूलका अष्ट्रेलियन नागरिक गरेर २ सय ५० जनालाई नेपाल एअरलाइन्सको विमान चार्टर गरेर बुधबार अष्ट्रेलिया लगिएको छ। नेपालस्थित अष्ट्रेलियन दूतावासले विवरण संकलन गरेर २ सय ५० जनालाई लगिएको हो। जसमा ७० जना नेपाली मूलका रहेका छन्।

नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बडले ठूलो पहल गरेर नेपालमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काएको इमेज खवरसंगको कुराकानीमा बताएका छन्। यसअघि, फ्रान्स, जर्मनी र अमेरिकाले पनि आफ्ना नागरिकलाई स्वदेश फर्काइसकेका छन्।
प्रकाशन मिति–२०७६ साल चैत १९ गते बुधवार ।