Fishकाठमाडौ। नेपालमा आएको बाढीले धनजनको क्षतिको अलावा बजार लान ठीक पारिएका माछा पनि बगाएको छ। नेपालका तराई तथा पहाडी भागका ठाउंं–ठाउंमा बाढीका कारण माछापालक कृषकहरु मर्कामा परेका छन्।

सवैभन्दा बढी बाढीले धनुषामा रु २५ करोडभन्दा बढीको माछा बगाएको छ। राससका अनुसार, बाढीले माछा बगाएपछि किसान मारमा परेका छन् । जिल्लामा दुई हजार ९१ किसानले ९७८ हेक्टरमा माछापालन गर्दै आएका छन्।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख प्रदीप ठाकुरका अनुसार प्रारम्भिक तथ्यांकअनुसार ३४० हेक्टर क्षेत्रफलमा रहेको माछा पोखरीमा बाढी पसेर माछा बगाएको छ । कृषि कार्यालय धनुषाका मत्स्य विकास अधिकृत लक्ष्मीनारायण भगतले पनि माछाखेतीमा भएको क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको बताए। उनले पनि बाढीले माछाखेती गर्ने किसानलाई निकै ठूलो नोक्सानी भएको बताए।

मत्स्य विकास तथा तालीम केन्द्र जनकपुरका अधिकृत शशिकुमार मिश्रले माछापालन गर्न तयार गरिएका १० लाख साना भुरा र दुईलाख फिंगर माछा बाढीले बगाएको छ। अधिकांश ठाउँमा पोखरीको डिल भत्केर माछा बगेको छ।

महेन्द्रनगरका व्यवसायी रामशोभित मुखियाले क्षीरेश्वरनाथ महेन्द्रनगरमा सातओटा माछा नर्सरी, दुईओटा पोखरीमा रहेको माउ माछा र सखुवास्थित ३१ भन्दा बढी पोखरीमा रहेका तयारी माछा बाढीले बगाएको बताए । त्यसरी माछा बगाउंदा एक करोडभन्दा बढीको नोक्सानी भएको छ।
प्रकाशन मिति–२०७४ साल भदौ २ गते शुक्रबार ।