काठमाडौं। नेपालमा आज जेठ १५ गते १३ औं गणतन्त्र दिवस। देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने कार्य भैरहेको छ। विसं.२०६५ सालमा संविधानसभाको पहिलो बैठकबाट आजैका दिन अर्थात् जेठ १५ गते संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको थियो। आजदेखि १२ वर्ष पूरा भएर १३ औं वर्षमा प्रवेश गरेको छ।

विसं.२०६२–०६३ सालमा भएको जनआन्दोलनले मुलुकमा शताब्दीऔं लामो राजतन्त्रलाई समूल अन्त्य गर्दै मुलुकमा गणतन्त्र स्थापना गरेको थियो। सोही आन्दोलनले सशस्त्र हिंसामा रहेको माओवादीलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याएको हो। विसं.२०६४ सालको चैतमा सम्पन्न संविधानसभा निर्वाचन र त्यसपछि बसेको संविधानसभाको पहिलो बैठकले देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो।

यो घोषणासँगै राजतन्त्रका अन्तिम उत्तराधिकारी राजा ज्ञानेन्द्र शाहले नारायणहिटीबाट बिदा लिएका थियो। तथापि, पहिलो संविधानसभाले मुलुक संघीय गणतन्त्रमा लगे पनि संविधान बनाउन सकेन र २०७२ सालमा दोस्रो संविधानसभाको निर्वाचन गरियो। दोस्रो संविधानसभाले बनाएको संविधान हाल कार्यान्वयन क्रममा छ।

संविधान कार्यान्वयनकै क्रममा भएका तीन तहका निर्वाचनपछि मुलुकको राजनीतिक संक्रमणकाल सकिएको छ । स्थिर सरकार गठन भएसँगै मुलुक अहिले आर्थिक समृद्धिको दिशामा अघि बढ्दै गएको छ। गणतन्त्र स्थापनापछि देशमा राजनीतिक परिवर्तनहरु संस्थागत हुँदै गए पनि जनजिविकाको सवालमा भने सोचे अनुसारको प्रगति हुन सकेको छैन्।

नयाँ चुनौति थपिएका छन्। राजनीतिक व्यवस्था र प्रणालीमा परिवर्तन भएपनि राजनीतिक दलका नेताहरुको सोच र शैलीमा परिवर्तन नआउँदा समस्या चिर्दै समाधान दिनसक्ने क्षमता भने देखिएको छैन्। करिब दुई तिहाई नजिकको बहुमत भएर पनि सत्तारुढ नेकपामा सत्ताछिनाझप्टीले झण्डै झण्डै वर्तमान सरकार ढल्ने अवस्थामा पुगिसकेको थियो।

देश भ्रष्टाचार र अनियमितताको दलदलमा फसेको छ। सत्तामा भएकाहरुलाई प्रभावमा पारेर राज्यको ढुकुटीमा ब्रह्मलूट मच्चाउने वर्गको हालिमुहाली अझ मौलाएको छ। जनतामा निराशा बढ्दै गएको छ। झन् यस पटक त संसारभर फैलिएको कोरोना महामारीका कारण देश र देशवासी नराम्रो संकटमा फसेका छन् । कर्मचारीमाो लुटतन्त्र र राजनीतिक नेतृत्वमा पुरानै सोच र ढर्रा कायमै हुँदा वास्तविक परिवर्तनको चाह राख्ने जनतामा चरम निराशा छाउन थालेको हो।


प्रकाशन मिति–२०७७ साल जेठ १५ गते विहीवार ।