काठमाडौं। नेपालमा एकैदिन १४ जना कोरोनाभाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन्। उदयपुरमा १२ जना र चितवनमा दुई जना नेपालीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो। शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन्।

उनीहरु मध्ये केही भारतीय हुन्। उदयपुरका १२ संक्रमित सबै पुरूष हुन्। उनीहरू ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ बर्षका छन्। संक्रमितहरु उदयपुर नगरपालिका–३ स्थित भुल्केमा रहेको मस्जिदमा भेटिएका थिए। मस्जिदमा नयाँ मानिसहरु देखेपछि स्थानीयले खबर गरेका थिए।

स्थानीय प्रशासन र जनप्रतिनिधि गएर बुझ्दा भारतको राजधानी नयाँ दिल्लीबाट आएका १२ जना भारतीय नागरिक र मोरङबाट आएका ४ जना नेपाली भेटेपछि परीक्षण गरिएको थियो। प्रारम्भको र्‍यापिड टेष्टमा सबैको रिपोर्ट नेगेटिभ आयो भने कोशी अञ्चल अस्पतालमा बिहीबार साँझ गरिएको परीक्षणमा ८ जनामा‘प्रिजम्टिभ पोजेटिभ‘ देखियो। र, टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १२ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवनका हुन्।यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ। उनीहरु मध्ये पहिलो संक्रमित निको भएर घर फर्किसकेका छन्।


प्रकाशन मिति–२०७७ साल बैशाख ५ गते शुक्रवार ।