काठमाडौ। नेपालको राजधानी काठमाडौको विषयमा चर्चा चल्दा अत्यन्त प्रदूूषित शहरको रुपमा आँकन हुने गरेको छ। यथार्थमा काठमाडौभन्दा पनि बढी प्रदूषित लुम्बिनी देखिएको छ। वातावरणीय प्रदूषण मापन तथ्यांकका आधारमा लुम्बिनी काठमाडौँभन्दा पनि बढी प्रदूषित देखिएको हो।

वायु गुणस्तर मापन तथा अनुगमन प्रणालीबाट प्राप्त तथ्यांकअनुसार काठमाडौँभन्दा लुम्बिनी डेढ गुणा बढी प्रदूषित पाइएको वातावरण विभागले जनाएको छ। मानव स्वास्थ्यमा असर गर्ने मसिनो धुलोका कण औषतमा काठमाडौँभन्दा लुम्बिनीमा बढी पाइएको विभागका सहप्रवक्ता मोहनदेव जोशीले बताएका छन्।

स्वास्थ्यका दृष्टिले काठमाडौँभन्दा लुम्बिनी बढी जोखिममा परेको देखिएको छ। लुम्बिनी बढी प्रदूषण हुनुको खास कारणमा तिब्र औद्योगिकीकरणमा रहेको भारतीय सीमाबाट बहने वायु प्रदूषण र लुम्बिनी आसपासमा बढी मात्रामा रहेका नेपाली सिमेन्ट उद्योगबाट उड्ने धुलोका कण हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको सहप्रवक्ता जोशीको भनाई रहेको छ।

विभागले एक वर्षअघि नै मुलुकको समग्र वायु प्रदूषणको स्थिति जाँच र अनुगमन गर्न मुुलुकभर १२ स्टेशन स्थापना गरेको छ। त्यस्ता स्टेशन काठमाडौँको पुल्चोक, रत्नपार्क, कीर्तिपुर, धुलिखेल, शंखपार्क, भैँसेपाटी, भक्तपुरमा छन् भने उपत्यका बाहिर सौराहा, लुम्बिनी र पोखरामा छन् । यद्यपि मुलुकभर ५६ स्टेसन आवश्यक पर्ने विभागको भनाइ छ।

वायु प्रदूषणको स्थिति जाँच गर्ने स्टेनशको २४ घण्टे तथ्यांक केलाउँदा दिउँसोको समय (११ देखि ४ बजेसम्म) कम प्रदूषित रहन्छ भने बिहानी र बेलुकीको समय बढी प्रदूषित छ । वार्षिक तथ्यांक हेर्दा भने कात्तिकदेखि फागुनसम्म अत्यधिक प्रदूषित हुने गरेको छ। काठमाडौँको हानिकारक प्रदूषणको स्रोतमा योगदानका आधारमा क्रमशः सवारी साधन, धुलो, कृषि कर्म र इँटाभट्टा रहेका छन्।

प्रकाशन मिति–२०७४ साल माघ २१ गते आइतवार ।