काठमाडौं। नेपालमा फ्रान्सबाट कतार हुँदै आएकी १९ वर्षीया विद्यार्थीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको खबर फैलिएपछि नेपालीहरुमा हतासको मनस्थिति देखिएको छ।

शंकास्पद करिब ६ सय जनामा परीक्षण गर्दा उक्त एक जना फ्रान्सवाट आएकी नेपाली विद्यार्थीको मात्र रिर्पोट ‘पोजेटिभ’ देखिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बताएका छन्। नेपालमा कोरोनाको संक्रमण देखिएको यो दोस्रो पटक हो । यसअघि चीनबाट फर्केका विद्यार्थीमा कोरोनाको संक्रमण देखिएको थियो । उनी निको भइसकेका छन् ।

चिकित्सकहरू भने संक्रमण देखिएपनि आत्तिनुपर्ने कारण नभएको बताउँछन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा.बाबुराम मरासिनीले ‘विश्वभरि फैलिएको कोरोना माहामारीको संक्रमण नेपालमा पनि देखियो भन्दैमा अत्तालिनुपर्ने कारण नभएको र एक जनामा देखियो भन्दैमा सारा नेपालीहरू आतंकित हुन नहुने भनेका छन्।

जनस्वाथ्य वैज्ञानिक डा.समीरमणि दीक्षित आफैंलाई लागे पनि हतास हुन नहुने र ‘कोरोना लागिहाल्यो भने पनि मृत्यु हुने होइन, बरु आत्मबल दह्रो बनाउनुपर्ने तथा विश्वका प्रायः सबै देशमा पुगिसकेको कोरोनाको संक्रमण देखिएपनि नआत्तिएर बच्ने उपाय खोज्नुपर्ने आवश्यक रहेको भनेका छन्।

डिसेम्बर अन्तिम साता चीनबाट सुरु भएको कोभिड–१९ को संक्रमण ३ लाख ४० हजारमा देखिएको छ । उनीहरू मध्ये एक लाख निको भइसकेका छन् । आवश्यक सावधानी अपाउन सक्दा १९२ देशमा देखिएको कोरोनाबाट बच्न सकिने जानकारहरू बताउँछन् । नेपाल सरकारले लक डाउनलगायतका पूर्व तयारी गरेकाले आत्तिनु पर्ने अवस्था भने नभएको सरकारी निकायका चिकित्सकहरुले भनेका छन्।

संक्रमितको संख्या थपिँदै गइहाल्यो भने पनि आइसोलेसनमा बस्नुपर्ने आइसोलेसनमा जान्छ, क्वारेन्टाइनमा जानुपर्ने क्वारेन्टाइनमा जान्छ। डा. दीक्षितले ‘लक्षण देखियो भने घरमै बस्नुस्, लक्षण कडा देखियो भने स्वास्थ्यकर्मीलाई जानकारी दिनुस्।’ भनेर सुझाव दिएका छन्।
प्रकाशन मिति–२०७६ साल चैत १० गते सोमवार ।