काठमाडौं। नेपालमा कोरोनाभाइरसको थप तीनजना संक्रमित भएको छ। स्वास्थ्य मन्त्रालयले आफ्नो फेसबुकमार्फत् शनिवार नेपालमा थप तीन व्यक्तिमा कोरोनाभाइरसको सङ्क्रमण भेटिएको पुष्टि गरेको हो।

तीमध्ये दुई जना भारतबाट फर्किएका नेपाली नागरिक हुन् भने एक जना पहिला सङ्क्रमण भएका व्यक्तिकी आफन्त हुन्। कैलालीमा सङ्क्रमण भएको पुष्टि भएका व्यक्तिकी ३४ वर्षीया आफन्तमा पनि कोरोनाभाइरस भएको पाइएपछि नेपालमा पहिलो पटक स्थानीय रूपमा सङ्क्रमण सरेको पुष्टि भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार अन्य दुई सङ्क्रमितमध्ये एक व्यक्ति मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरुष हुन् भने अर्का व्यक्ति उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुष हुन्। यो समेत नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या नौ पुगेको छ। एकजना भने निको भएर घर फर्किसकेका छन्।
प्रकाशन मिति–२०७६ साल चैत २२ गते शनिवार ।