काठमाडौं। नेपालमा कोरोनाभाइरसको महामारीबारे अफवाह र भ्रमपूर्ण अडियो क्लिपलाई सामाजिक सञ्जालमार्फत भाइरल बनाउनेलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षीय विवेक थापा मगरलाई त्यस्तो भ्रमपूर्ण खबर रेकर्ड गरी सामाजिक सञ्जालमार्फत फैलाएको भन्दै प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो।

साइबर व्यूरो स्रोतका अनुसार भ्रमपूर्ण अडियो क्लिप शनिबार बिहान ८ बजेतिर सामाजिक सञ्जालमा देखा परेको थियो। पक्राउ परेका मगरले चलाउने झोर्ले न्यूज अनलाइन पोर्टलमार्फत उक्त अडियो पहिले सावर्जनिक भएको र पछि सामाजिक सञ्जालमा फैलिएको थियो। मगरसँग प्रहरीले विस्तृत बयान लिने कार्य भएको छ ।

पक्राउ परेका मगरले नर्भिक अस्पतालमा ६ जना कोरोना भाइरसबाट संक्रमित फेला परेको भन्‍ने सूचना त्यहीं कार्यरत चिकित्सकले बताएको भन्दै भिडियो क्लिप सेयर गरेका थिए। उनले नर्भिकमा मात्र नभई त्रिवि शिक्षण अस्पतालमा पनि कोरोनाबाट संक्रमित केही व्यक्तिको मृत्यु भइसकेको भ्रमपूर्ण अडियो रेकर्ड गरेका थिए।

काठमाडौंको थापाथलीमा रहेको नर्भिक अस्पताललाई अडियो क्लिपमा मगरले ललितपुरको पुलचोकमा रहेको नर्भिक अस्पताल भनेका थिए। रातारात भाइरल बनेको उक्त अडियो क्लिपको खण्डन गर्दै नर्भिक अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै हालसम्म नर्भिक अस्पतालमा कोरानाभाइरसका कोही पनि विरामी नभएको र कसैलाई संक्रमण नभएको भनेको छ। भ्रमपूर्ण अडियो क्लिप भाइरल गर्नेलाई हदैसम्म कारवाही गर्न अस्पतालले माग गरेको छ।

यस्तै, टेकु अस्पतालमा कोरोनाका कारण मृत्यु भएको दाबी सहित भिडियो क्लिपव्दारा एक युवाले फैलाएको समाचार पनि अत्यन्त कपोकल्पित तथा भ्रमपूर्ण अफवाह भएको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुसार, त्यसरी अफवाह फैलाउने त्यस युवक हाल अमेरिकामा भएको पाइएको छ। र, उनको त्यो पोष्ट हटाउन सामाजिक सञ्जाल फेसबुकको मुख्यालयमा पत्राचारसमेत भइसकेको छ।

अर्को मध्यरातमा नेपाली सेनाको हेलिकप्टरले औषधि छर्किँदैछ भन्ने प्रचार पनि अफवाह नै हो। नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी विज्ञानराज पाण्डेले यसको खण्डन गरेका छन् । सेनाले विज्ञप्ति जारी गर्दै झुटो प्रचारमा विश्वास नगर्न सबैलाई अनुरोध गरेको छ। कोरोना भाइरसको अहिलेसम्म कुनै औषधि पत्ता लागेको पनि छैन्।

औषधि नै पत्ता नलागेको अवस्थामा मध्यराति नेपाली सेनाले हेलिकप्टर मार्फत औषधि छर्किदैछ भन्ने कुरा पनि सरासर झूठ र अफवाह मात्र हो। यसतर्फ सावधान रहन नेपाली सेनाले सवैलाई सचेत गराएको छ।
प्रकाशन मिति–२०७६ साल चैत ८ गते शनिवार ।