काठमाडौं। इजरायलका लागि नेपाली राजदूत डाक्टर अञ्जान शाक्यले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई नियन्त्रण गर्न हाल इजरायलले प्रयोगमा ल्याइरहेको सफ्टवेयर एप्लिकेसन ‘सेफ प्लेस’लाई नेपालमा प्रयोगमा ल्याउन सक्ने संभाव्यताको लागि छलफल गरेकी छन्।

कोरोनाभाइरसको संक्रमणले विश्व नै त्रसित बनिरहेका बेला राजदूत डाक्टर शाक्यले उक्त सफ्टवेयर एप्लिकेसन नेपालमा प्रयोगमा ल्याउन सकिने–नसकिने विषयमा इजरायलको केएलपी मामन कम्पनीका प्रतिनिधिहरु र नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पदाधिकारीहरुसँग भिडियो कन्फरेन्समार्फत छलफल गरेकी हुन।

इजरायलका लागि नेपाली दूतावासको संयोजनमा भएको सो कन्फरेन्समा केएलपी मामन कम्पनीका प्रतिनिधिले उक्त एप्लिकेसन कोरोनाभाइरस संक्रमणलाई नियन्त्रण गर्न कसरी सहयोगी हुन्छ भन्ने विषयमा भिडियो कन्फरेन्समार्फत नै प्रस्तुति दिएका थिए।

नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्रमुख विशेषज्ञ डा.दीपेन्द्ररमण सिंह नेतृत्वको टोलीले उक्त एप्लिकेसन नेपाललाई उपयुक्त हुने–नहुने बारेमा जानकारी लिएका थिए। छलफलमा एचइओसी प्रमुख, वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर दाहाल, गुणस्तर मापन तथा नियमन महाशाखाबाट वरिष्ठ जनस्वास्थ्य अधिकृतलगायत सहभागी रहेको थियो।

उक्त एप्लिकेसनले कोरोनाभाइरस संक्रमित ब्यक्ति बिगत १४ दिनमा गएका ठाउँहरुको ट्र्याक गरी सम्भावित सम्पर्कमा आएका ब्यक्तिहरुलाई जानकारी गराई होम क्वारेन्टाइनमा बस्न वा चिकित्सकसँग सम्पर्क गर्न सल्लाह दिने उक्त कम्पनीका प्रतिनिधिले जानकारी गराएका छन्।

इजरायलले उक्त सफ्टवेयर एप्लिकेसन प्रयोगमा ल्याएपछि त्यहाँ लकडाउन नै नगरी कोरोनाभाइरस संक्रमणलाई नियन्त्रणमा लिन सफल भएको पनि कम्पनीले जानकारी दिएको छ। यो एप्लिकेसन इटाली, क्यानडा, दुबई तथा मेक्सिको लगायतका अन्य देशहरुमा प्रयोगमा आउने क्रममा रहेको कम्पनीले भनेको छ।

राजदूत डाक्टर शाक्यले यसअघि पनि कोरोनाभाइरसका बारेमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर यादव तथा नेपाल सरकारका उच्चस्तरीय पदाधिकारीहरु सम्मिलित भिडियो कन्फ्रेन्समा सहभागी भई इजरायल र साइप्रसको कोरोना संक्रमणसम्बन्धी तथ्यांक, नेपालीहरुको अवस्था, नेपालीहरुमा कोरोनाका कारण देखिएका समस्याहरु–नकारात्मक प्रभावहरु, अब उत्पन्न हुन सक्ने समस्याहरु, समस्या समाधानका उपायहरूबारे छलफल गरेकी थिइन्।

छलफलमा दक्षिण अफ्रिका, मलेसिया, जापान तथा दक्षिण कोरियास्थित नेपाली नियोगका राजदूतहरू तथा नियोग प्रमुखहरू पनि सहभागिता रहेका थिए।
प्रकाशन मिति–२०७६ साल चैत १७ गते सोमवार ।