काठमाडौं। नेपालमा बुधवारवाट कोरोनाभाइरस विरुद्धको खोप लगाउने अभियान शुरु भएको छ। भारत सरकारवाट प्राप्त कोरोनाभाइरस विरुद्धको खोप लगाउने अभियान शुरु भएको हो।

कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको खोप अभियानको पहिलो दिन बुधवारमात्र ९ हजार बढीले खोप लगाएका छन्। काठमाडौंको टेकुस्थित शुक्रराज अस्पतालका निर्देशक डा.सागर राजभण्डारीले कोभिड–१९ विरुद्धको खोप लगाउने अभियान शुरु भएको हो। डा.राजभण्डारी नेपालमा कोभिड–१९ विरुद्धको खोप लगाउने पहिलो नेपाली व्यक्ति बनेका छन्।

६४ जिल्लाका ९३ खोप केन्द्रहरुबाट ९ हजार ८४ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ मा १ हजार २ सय ५५, प्रदेश २ मा ७ सय २६, बागमतीमा २ हजार ६ सय ९४, गण्डकीमा १ हजार ८ सय ४३, लुम्बिनीमा ७ सय ३३, कर्णालीमा ७ सय ५१ र सुदूरपश्चिम प्रदेशमा १ हजार ८२ जनाले खोप लगाएका छन्।

खोप लगाएका व्यक्तिहरुमा हालसम्म कुनै पनि स्वास्थ्य समस्या नदेखिएको मन्त्रालयले जनाएको छ। खोप अभियानमा सक्रिय सहभागिता जनाउन मन्त्रालयले सबैमा आग्रह गरेको छ। काठमाडौं उपत्यकाको त्रिवि शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, वीरेन्द्र प्रहरी अस्पताल, पाटन अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल लगायतमा बुधबार खोप लगाइएको छ।

यी अस्पतालहरुमा प्रधानमन्त्री केपी शर्मा ओली, स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्रदयेश त्रिपाठी लगायले स्थलगत अनुगमन समेत गरेका थिए। पहिलो चरणमा नेपालमा फ्रन्टलाइनमा काम गर्ने सफाईकर्मी, स्वास्थकर्मी तथा सुरक्षाकर्मीहरुलाई खोप लगाइएको छ। तीन महिनाभित्र सवै नेपालीलाई कोरोना विरुद्धको खोप लगाउने सरकारले लक्ष्य राखेको छ।
प्रकाशन मिति–२०७७ साल माघ १४ गते बुधवार ।