काठमाडौं। नेपालमा कोरोनाभाइरस संक्रमित चारजनाको संपर्कमा आएका व्यक्तिहरुमा संक्रमण नदेखिएको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस संक्रमित चारजनाको सम्पर्कमा आएका व्यक्तिहरुमा संक्रमण नदेखिएको जनाएको हो।

मन्त्रालयले नियमित गर्दै आएको पत्रकार सम्मेलनमा बुधबार मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले दुईजना संक्रमतिका आफन्त तथा नजिकका व्यक्तिहरुमा संक्रमण नदेखिएको र अन्य दुईजनासँग सम्पर्कमा आएका ८४ प्रतिशत व्यक्तिहरुको पनि परीक्षण सकिएको जानकारी दिए।

हालसम्म एक हजार १३३ जनाको परीक्षण भएको भन्दै डा.देवकोटाले पछिल्लो २४ घन्टामा परीक्षण गरिएका ७३ जनामा पनि कोरोनाभाइरस संक्रमण नदेखिएको जानकारी दिए। हाल काठमाडौं र धरानस्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाँचजनाको परीक्षण गरिसकेको तथा सुर्खेत, धनगढी र बुटवलमा बिहीबारदेखि परीक्षण सुरु गराउने जानकारी दिए।

यस्तै, मन्त्रालयले शुरु गरेको कोरोनाभाइरससम्बन्धी एपमा आफ्नो लक्षण राख्ने दुई हजार ३०० मध्ये १२ जनाको स्वास्थ्य परीक्षण गरिने डा.देवकोटाले जानकारी दिएका छन्।
प्रकाशन मिति–२०७६ साल चैत १९ गते बुधवार ।