काठमाडौं। नेपालमा कोरोनाविरुद्धको खोपको अभियानले तेश्रो चरण पार गर्ने क्रममा रहेको छ। यसक्रममा कोरोनाविरुद्धको पहिलो खोप लगाएको २८ दिनपछि लगाउने भनिएकोमा प्रभावकारितालाई ध्यान दिएर त्यसमा परिमार्जित गर्ने कार्य भएको हो। कोरोनाको दोस्रो डोजको खोप ८ देखि १२ हप्तापछि लगाउन खोप विज्ञको टोलीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सुझाव दिएको छ।

सोमबार राजधानीमा स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको ‘कोभिड–१९ र कोभिसिल्ड खोपको प्रभावकारिता’ विषयक अन्तक्रिया कार्यक्रममा खोप विज्ञ डा.श्यामराज उप्रेतीले खोपको पहिलो डोज लगाएको ८ देखि १२ हप्तापछि लगाउँदा बढी प्रभावकारी भएको अनुसन्धानमा देखिएको बताएका छन्।

डा. उप्रेतीले भने,‘खोपका बारेमा विभिन्‍न अनुसन्धान भइरहेकोमा पहिलो खोप लगाएको जति बढी अन्तर भयो त्यति प्रभावकारी देखियो। यसका लागि मन्त्रालयलाई हामीले सिफारिस गरिएको गरेका छौँ ।’

स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख डा.झलक शर्माले पनि सिफारिस अनुसार मन्त्रालयले दोस्रो डोजको खोप लगाउने कुरामा निर्णय गरेपछि पहिलो खोप दिइएको ८ हप्ता अर्थात दुई महिना पछि मात्र दोस्रो खोप दिइने बताए। उनले कोभिसिल्ड खोप १६ वटा देशमा प्रयोग भइरहेकाले सुरक्षित रहेको र सुरक्षा तथा प्रभावकारितामा सफल भएकाले सबैले खोप लगाउन नडराउन आग्रह गरे ।

कार्यक्रममा बोल्दै औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले हालसम्म ३ वटा खोप उत्पादक कम्पनीले विभागमा आवदेन दिएको बताउँदै ती कम्पनीहरुका लागि थप आवश्यक कागजातका लागि पत्राचार गरिएको बताए ।


प्रकाशन मिति–२०७७ साल फागुन ३ गते सोमवार ।