काठमाडौं। नेपालमा १८ वर्षमाथिका ३७.३ प्रतिशत नागरिकले कोरोना विरुद्धको दुबै मात्रा खोप लगाएका छन् । कात्तिक २१ गतेसम्म ७४ लाख ३४ हजार ७९७ जनाले दुबै डोज र ८७ लाख ३६ हजार ५३२ जनाले पहिलो डोज खोप लगाएको खुलासा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएपछि उक्त पुष्टि भएको हो। ६२.७ प्रतिशतले खोप लगाउन अझै वाँकी छ।

जसमध्ये एष्ट्राजेनेका खोपको पहिलो डोज २९ लाख ६ हजार १२६ जना र दोस्रो डोज १६ लाख ८१ हजार ४२३ जनाले लगाएका हुन् । त्यस्तै भेरोसेल खोपको पहिलो डोज ५८ लाख ३० हजार ४०६ जनाले र दोस्रो डोज ४२ लाख ९ हजार ८७७ जनाले लगाएको मन्त्रालयले जनाएको छ।

जोन्सन एण्ड जोन्सन खोप नेपालमा १५ लाख ४३ हजार ४९७ जनाले लगाएको मन्त्रालयको तथ्यांक छ । नेपालमा यही कात्तिक २८ गतेदेखि १२ देखि १८ वर्षसम्मका लागि फाइजर खोप दिइँदैछ ।

यसैबीच चीनले नेपाली सेनालाई ३ लाख डोज कोरोनाविरुद्धको खोप दिएको छ । चिनियाँ जनमुक्ति सेनाको तर्फबाट नेपाली सेनालाई प्रदान गरिएको खोप नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानसेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गरिएको छ।

खोपसँगै चीनले १० वटा भेन्टिलेटर र एक सय वटा अक्सिजन कन्सन्ट्रेटर पनि नेपाली सेनालाई उपलब्ध गराएको छ। नेपाली सेनाले विज्ञप्ति जारी गरेर चीनको सहयोगले दुई देशबीचका सेनाको सम्बन्ध थप मजबुद हुने विश्वास व्यक्त गरेको छ ।
प्रकाशन मिति–२०७८ साल कात्तिक २३ गते मंगलवार ।