काठमाडौं। विश्वमा नै आक्रान्त पारिरहेको कोरोनाको महामारीमा नेपालमा कोरोना संक्रमितको संख्या करिब डेढ लाखको हाराहारीमा पुग्न लागिसकेको छ। बुधवारसम्मको सरकारी तथ्याङ अनुसार कोरोना संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ पुगिसकेको छ।

डेढ लाखको हाराहारीमा पुगेको संक्रमितको संख्या मध्येवाटै हालसम्म करिब १ लाखले कोरोना संक्रमणवाट निको भैसकेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजित पत्रकार सम्मेलनमा हालसम्म निको हुनेको संख्या ९९ हजार ६०५ जना पुगेको जानकारी दिएको हो।

पछिल्लो २४ घण्टामा भने २ हजार ९९६ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा बुधबार थप ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म १ लाख ४४ हजार ८७२ संक्रमितको संख्या पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जनाएका छन्।

यो सँगै देशभरी सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ पुगेको छ। वितेको २४ घण्टामा जम्मा २० हजार ११८ पीसीआर परीक्षण भएका छन्। हालसम्म पीसीआर विधिबाट १३ लाख ३४ हजार ८९७ परीक्षणहरु गरिएका छन्।


प्रकाशन मिति–२०७७ साल कात्तिक ५ गते बुधवार ।