काठमाडौ। चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण केही महिनाभित्रै गराउने प्रयाससँगै सरकारले भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई पनि सन् २०१६ भित्रै भ्रमण गराउन पहल सुरु गरेको छ। सरकारले भारतीय राष्ट्रपतिको भ्रमणका लागि कूटनीतिक र राजनीतिक सम्पर्क लगातार अघि बढाएको छ।

सरकारले चिनियाँ राष्ट्रपति सीलाई असोजको अन्त्यमा स्वागत गर्ने तयारी गरिरहेको छ। त्यसलगत्तै वा अघि हुने गरी भारतीय राष्ट्रपतिको नेपाल भ्रमण गराउने तयारी पनि थालिएको हो। प्रधानमन्त्री केपी ओलीले भारत भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट मुखर्जीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए।

China Nepal India

नेपालको निमन्त्रणा प्रस्तावमा भारत सकारात्मक भए पनि मुखर्जीले कहिले भ्रमण गर्ने भन्ने यकिन भइसकेको छैन। भारतका कुनै पनि राष्ट्रपतिले १९ वर्षदेखि नेपाल भ्रमण गरेका छैनन्। नेपालका तर्फबाट लगातार भारतको भ्रमण हुने तर भारतको तर्फबाट विरलै हुने भन्दै नेपालले विभिन्न तहबाट भारतीय राष्ट्रपतिको नेपाल भ्रमणका लागि आग्रह गरिरहेको जानकारी परराष्ट्र सम्बद्ध अधिकारीले दिए।

साउथ चाइना मर्निङ पोस्टले पनि चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण हुने संकेत गरेको छ। नयाँ दिल्लीमा असोज २९ र ३० मा हुने व्रिक सम्मेलनमा भाग लिन जानुअघि वा भाग लिएर फर्कने क्रममा उनको नेपाल भ्रमण हुने सम्भावना रहेको जनाइएको छ । चिनियाँ राष्ट्रपतिको भ्रमण तयारीका लागि रक्षामन्त्री भीम रावल चीन जान सक्ने सम्भावना रहेको अधिकारीहरूले बताएका छन्।

नेपालका प्रायजसो सबै प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारत हुने गरेको भए पनि सत्र वर्षपछाडि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई वर्षअगाडि नेपालको भ्रमण गरेका थिए। नेपाली अधिकारीहरूका अनुसार भारतीय राष्ट्रपति मुखर्जीको नेपाल भ्रमणका लागि लामो समयदेखि गम्भीर रूपमा पहल भइरहेको छ र यसले छिटै नयाँ निष्कर्ष दिनेछ।

स्रोतका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको भ्रमण गरेपछि भारतीय राष्ट्रपतिको नेपाल भ्रमण हुने सम्भावना छ । राष्ट्रपतिको भ्रमण अकस्मात् रद्द भएपछि असन्तुष्ट भएको भारतले पहिला नेपालका राष्ट्रपतिको भारत भ्रमणको अपेक्षा गरेको छ।
प्रकाशन मिति–२०७३ साल जेठ ३० गते आइतवार ।