काठमाडौं। नेपालमा विगत ६५ बर्षदेखि बसोवास गर्दै मानविय रुचि र कौतुहलताको विषय जादुकला देखाउंदै आएका जादुगर द ग्रेट सुशील अझै नागरिकता विहिन अवस्थामा रहेका छन्। नागरिकता विहिन नागरिक बन्नुपर्दाको पीडा जादुगर द ग्रेट सुशीलले भिजन संसार डटकमको भिडियो वार्तावाट खुलासा गरेका हुन।

७५ बर्ष पुगिसकेका जादुगर द ग्रेट सुशील र सुशीलको परिवार न नेपाली बन्न सके, न बंगाली हुन नै पाए ! जति समय वित्दैगएको छ–त्यति पीडा जादुगर द ग्रेट सुशीललाई भन्दा सुशीलको परिवारलाई भएको छ। जवान छोरा–छोरी, बुहारी र नातिलाई भएको छ। नागरिकता नहुंदा सामान्य बैंकमा समेत खाता खोल्न पाएका छैनन्। सरकारी कुनै काम लगायत सवै काममा नागरिकता आवश्यक हुने भएकोले ती सवै कार्य गर्न र गराउन जादुगर द ग्रेट सुशीलको परिवार चुकिरहेका छन्।

छोरी सुस्मिता र छोरा सुमन नेपालमा नै जन्मेका हुन। उनीहरुले स्नातक उत्तिर्ण गरिसकेका छन्। छोरा सुमनको त विवाह पनि भैसकेको छ। नाति पनि भैसकेको छ। तर, उनीहरु नागरिकता नहुंदा सरकारी नोकरी देखि विदेशको नोकरीमा जान समेत बञ्चित बनिरहेका छन्। पूर्वी पाकिस्तान तथा हालको बंगलादेशवाट भारत–पाकिस्तानको युद्धको बेला बेघर बनेर जादुगर द ग्रेट सुशीलको परिवार बंगलादेश हुंदै पूर्वी नेपालको झापाको भद्रपुरमा शरणार्थीको रुपमा प्रवेश पाएका थिए।

जादुगर द ग्रेट सुशील नौ बर्षको उमेरमा मातापिताका साथमा झापााको भद्रपुरमा आएका सुशीलको पुस्तेनी पेशा जादुकला देखाउने कार्य नै हो। त्यो बेला भद्रपुरमा जादुकला देखाउने कार्य गर्दा आजको जस्तो पैसा पाउंदैन्थ्यो। जादुकला देखाएवापत त्यो बेला अन्नपात पाउने गर्दथ्यो। जादुकला देखाएवापत ज्यालाको रुपमा पाएका ती अन्नपातलाई पसलमा लगेर पैसासंग साटेर जीविका चलाउंदै आएका जादुगर द ग्रेट सुशीलले नेपालगञ्जमा बाउको लाशको अगाडि जादुकला देखाएर जादुको करियर शुरु गरेका हुन।

त्यतिखेर जादुगर द ग्रेट सुशीलको उमेर १० बर्ष मात्र थियो। जादुकला देखाउन व्यस्त बनिरहेका सुशीलको पिताजी एकाएक मञ्चमा ढले। त्यतिखेर पिताजीको सहायक बनेर कार्य गर्दैगरेका सुशीललाई पिताजीको देहान्त भैसकेको र जादुकलालाई निरन्तरता दिन उनकै माताजीले आज्ञा दिएपछि पिताजीको लाश अगाडि राखेर १० बर्षको उमेरमा जादुकला देखाएका थिए। जुन जादुगर द ग्रेट सुशीलको लागि अत्यन्त अविस्मरणीय पल बनेको छ।

पिताको विरासतलाई थाम्दै व्यावसायिक जादुगर बनेर ६५ बर्षदेखि नेपालमा बसोवास गरेर जादुकला देखाउने कार्य गदैआएका जादुगर द ग्रेट सुशील र सुशीलको परिवार मन, बचन तथा कर्मले नेपाली बनिसकेका छन्। तरपनि, नेपाली नागरिकता पाउन सुशील र सुशीलको परिवारले पाउन सकेका छैनन्। अझ सुशीलका छोरा–छोरी दुवै नेपालमा नै जन्मे। उनीहरुको पढाई–लेखाई सवै नेपालमा नै भयो। तरपनि, सुशीलका छोरा–छोरीको जन्मदर्ता समेत नेपालमा हुन सकेको छैन्। जन्मदर्ता गर्न नेपालको ऐन–कानून अनुसार बाउ र आमाको नागरिकता पेश गर्नुपर्ने भएको कारण त्यो पनि हुन सकेको छैन्।

जादुगर द ग्रेट सुशीलसंग कुनैपनि देशको नागरिकता लगायतको कागजात नभएको कारण विश्वकै नागरिकता विहीन नागरिकका रुपमा रहेका छन्। नेपालमा नेपाली बनेर विगत ६५ बर्षदेखि निरन्तर बस्दैआएको प्रमाण पेश गर्दापनि कही कतैवाट नागरिकता दिने पहल नभएको जादुगर द ग्रेट सुशीलको भनाइ छ। जादुगर द ग्रेट सुशीललाई नागरिकता दिलाइदिन्छु भनेर नेताहरुले आश्वासन दिएतापनि कसैले पूरा नगरेको गुनासो सुशीलको रहेको छ।

आफू त ७५ बर्षको बृद्ध भैसकेको र डाँडामाथिको घाम भैसकेको अवस्थामा आफ्नोभन्दा छोराछोरीको भविष्यको अत्यन्त चिन्ता भएको सुशील भन्छन्। मर्नेबेलासम्म पनि नेपालको नागरिकता पाएर गौरबशाली नेपाली बनेर मर्न पाउन पाए, आफूले नेपालमा ६५ बर्षदेखि निरन्तर सेवा गरेको प्रतिफल मिलेको अनुभव गर्न पाउने थिए भनेर सुशीलले भनेका छन्। सुशीलकी छोरी सुस्मिता पनि बाउको नेपाली नागरिक वनेर मर्ने चाहना पूरा गरिदिएर आफूहरु नागरिकता विहिन नागरिक बन्नवाट बचाउन सरकारसंग विनम्र अनुरोध गर्छिन्।

प्रकाशन मिति–२०७७ साल असार २९ गते सोमवार ।