काठमाडौ। नेपालमा तीन दिनसम्म वर्षा जारी रहने मौसमविदले अनुमान गरेका छन्। शनिवार रातभर बर्षा भएको नेपालमा आइतबार र सोमबार भारी वर्षा तथा मंगलबार मध्यमखालको वर्षा हुने अनुमान गरिएको छ।

मौसम विज्ञान विभागले आज आइतवारदेखि तीन दिनसम्म मौसम पूर्वानुमानबारे सूचना जारी गर्दै मंगलबारसम्मै पानी पर्ने जनाएको हो। आइतबार दिउँसोदेखि रातिसम्म पूर्ण बदली रही देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति पश्चिमी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। सोमबार राति मध्य र पश्चिमी नेपालमा भारी वर्षाको सम्भावना छ। मंगलबार भने पूर्वी नेपालमा मध्यमखालको वर्षा हुने अनुमान गरिएको छ। मंगलबार दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली हुने मौसम विज्ञान विभागले जनाएको छ।

प्रकाशन मिति–२०७५ साल साउन २० गते आइतवार ।