काठमाडौं। नेपालमा थप एक जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। हिजो राति प्राप्त भएको कोरोनाभाइरस परिक्षण रिपोर्टमा थप एक जनामा कोरोनाभाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी गणेश श्रीवास्तवले पुष्टि गरेका छन्।

कोरोनाभाइरसको संक्रमण देखिएका बिरामीलाई काठमाडौंको टेकुस्थित शुक्रराज सरुवा रोग अस्पतालको आइसोलेशन वार्डमा राखिएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन पुगेको छ । संक्रमितको सबै कुरा गोप्य राखिएको छ। यसअघि चीनबाट फर्केका एक युवा र फ्रान्सबाट कतार हुँदै फर्केकी एक युवतीमा कोरोनाभाइरसको संक्रमण देखिएको थियो।

चीनबाट फर्केका युवा उपचारपछि निको भएर घर फर्किसकेका छन् भने फ्रान्सवाट आएकी युवतीको टेकुमै उपचार भइरहेको छ।


प्रकाशन मिति–२०७६ साल चैत १२ गते बुधवार ।