काठमाडौं। नेपालमा कोरोनाभाइरस (कोभिड १९) संक्रमितको संख्या ४ सय २७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार थप २५ जनामा कोरोना पुष्टि भएको जनाएको हो। उनीहरु ३ देखि ४८ उमेरका छन्। जसमा १८ पुरुष र ७ महिला छन्।

मन्त्रालयले बुधबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा.विकास देवकोटाले संक्रमित हुनेमा धनकुटाका ५ जना (२८, २९, ३५ र ३७ ) र एक जना २४ वर्षीय महिला रहेको बताएका छन्। त्यसैगरी बाँकेमा ६ पुरुष (नरैनापुरका १७, २०, २८ र ३० वर्ष)का र खजुरा ५ का २७ वर्षीय पुरुष रहेका छन् । त्यसका साथै कपिलवस्तुमा १३ जनामा र नवलपरासीमा थप १ जनामा संक्रमण देखिएको छ। संक्रमण पुष्टि भएकामध्ये हालसम्म ४५ जना निको भएका छन् भने सिन्धुपाल्चोकमा एक र बाँकेमा एक गरी २ जनाको मृत्यु भएको छ।

मन्त्रालयका अनुसार बुधबारसम्म नेपालमा आरडीटी विधिबाट ७५ हजार ७२ नमुना परीक्षण भएका छन्। पीसीआर विधिबाट भने हालसम्म ३५ हजार ४ सय ९४ परीक्षण भएको प्रवक्ता डा.देवकोटाले भनेका छन्।
प्रकाशन मिति–२०७७ साल जेठ ७ गते बुधवार ।