काठमाडौं। नेपालमा कोरोनाभाइरसबाट बच्न सरकारले एक साताका लागि गरेको लकडाउनको दोस्रो दिन आज बुधवार पनि बिहानैदेखि सुरक्षाकर्मी परिचालन गरिएको छ। सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गर्दै सुरुक्षाकर्मीले चेकजाँचमा कडाइ गरेका छन्।

लकडाउनका कारण अधिकांश शहरी क्षेत्रमा मानिसहरु घरमै बसेकाले शहर बजार पनि सुनसान बनेका छन्। सरकारी निर्देशनको अवज्ञा गरेर सवारी साधन चलाउनेहरुलाई प्रहरीले कारावाही गरेको छ। त्यसैगरी अनावश्यक रुपमा घर बाहिर निस्कने र भीडभाड गर्नेहरुलाई पनि प्रहरीले घर फर्काएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरस रोकथामका लागि लागू गरिएको लकडाउन उल्लंघन गर्नेविरुद्ध प्रहरीले कारबाही थालेको छ।लकडाउन उल्लंघन गरेर सडकमा निस्किएका सवारीसाधानलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिन थालेको हो। जसअनुसार महागनरीय ट्राफिक प्रहरी महाशाखाले बुधबार बिहान ८ बजेसम्म मात्रै ३ सय २ वटा सवारीसाधन नियन्त्रणमा लिएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी जीवन श्रेष्ठका अनुसार काठमाडौं उपत्यका विभिन्न स्थानबाट ती सवारीसाधनलाई नियन्त्रणमा लिइएको हो। सबैभन्दा बढी कालिमाटीबाट ३३ वटा सवारीसाधनलाई नियन्त्रणमा लिइएको छ। घरबाट अनावश्यक रूपमा निस्केका सर्वसाधारणलाई भने सम्झाई बुझाई गरेर घरतर्फ नै फर्काइएको एसपी श्रेष्ठले भनेका छन्।
प्रकाशन मिति–२०७६ साल चैत १२ गते बुधवार ।