काठमाडौं। नेपालमा सरकारले आगामी साउन ७ गतेसम्म लकडाउनलाई जारी मोडालिटी अनुसार नै निरन्तरता दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो।

असार १ गते देखि नेपालमा जनजीवनलाई सामान्य वनाउन मात्र सरकारले लकडाउनको नयाँ मोडालिटी अनुसार खुकुलो मात्र बनाएको बताएको छ। तर सरकारले कहिलेसम्म लकडाउन जारी रहन्छ भन्ने कुरा भने भनेको छैन्।

यस्तै, सरकारले हवाई उडान पनि साउन ७ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ। निजी सवारीसाधन जोर विजोर प्रणालीमा चल्नेछन्। उद्दार बाहेकका सबै हवाई उडान बन्द हुनेछन् । विद्यालय तथा शैक्षिक संस्थाहरू पनि बन्द नै रहनेछन्। सभा समारोह, प्रदर्शन गर्न पाइने छैन भने सिनेमा हल, डान्सबार, पुस्तकालय, संग्रहालय, समूहमा खेलिने खेल, स्वीमिङ पुलहरू पनि खुला हुने छैनन्।

सरकारले तोकेका २० बाहेक अरू अन्तर्राष्ट्रिय सीमा नाका पनि बन्द नै रहनेछ। रेस्टुरेन्टहरू प्याकिङ र टेक अवे सेवा दिने गरी खुला गर्न सकिनेछ भने क्वारेन्टिन बनाइएका बाहेकका होटलहरू बन्द नै रहनेछन् ।

लकडाउन खुकुलो भएपछि जनजीवन सामान्य बन्दै गएको तर स्वास्थ्य सुरक्षा मापदण्ड पालना नभएको सरकारको निष्कर्ष छ। बैठकले सोसल डिस्ट्यान्स, मास्क र स्यानिटाइजरलाई कडाईपूर्वक लागू गर्ने निर्णय गरेको छ।
प्रकाशन मिति–२०७७ साल असार १५ गते सोमवार ।