काठमाडौं। नेपालले पनि पहिलो पल्ट स्याटेलाइट निर्माण गरेर अन्तरिक्षमा प्रक्षेपण गरिएको छ। नेपालमै निर्माण गरिएको पहिलो स्याटेलाइट ‘सानो स्याट–१’ बिहीबार राति अन्तरिक्षमा सफल प्रक्षेपण भएको हो।

स्पेस एक्सको फाल्कोन–९ रकेटमार्फत बिहीबार अमेरिकाको केप क्यानिर्भल फ्लोरिडा स्पेस सेन्टरबाट नेपाली समयअनुसार राति ९ बजेर १० मिनेटमा प्रक्षेपण गरिएको कान्तिपुर दैनिकको अनलाइन संस्करणले जनाएको छ।

बिहीबार राति प्रक्षेपण गरिएको स्पेस एक्सको फाल्कोन–९ रकेट । यही रकेट मार्फत ‘सानो स्याट–१’ अन्तरिक्षमा पुर्‍याइएको थियो । स्याटेलाइटलाई एक्जोपोर्ट–६ डिप्लोयरले अन्तिरक्षमा छाडेको हो । प्रक्षेपण भएको १ घण्टा ५ मिनेटपछि एक्जोपोर्ट(६ डिप्लोयरले सानोस्याट-१ लाई अन्तरिक्षमा छाडेको थियो । सानोस्याट-१ सँगै अमेरिकास्थित मिनि क्युब स्पेस डेभ्लोपमेन्टले बनाएको च्यालेन्जर स्याटेलाइट पनि प्रक्षेपण भएको थियो।

ट्रान्सपोर्टर–३ स्पेस एक्सको तेस्रो राइडरसेर मिसन हो । यसमा १०५ वटा वस्तुहरु अन्तरिक्षमा छाडिएका थिए । सानोस्याट अन्तरिक्षमा छाडिनुअघि एक्सोपोर्ट–६ बाट ११ वटा अन्य स्याटेलाइटहरु अन्तरिक्षमा छाडिएको थियो । त्यसपछि अन्य २ दर्जनभन्दा बढी स्याटेलाइटहरु छाडिएका थिए । स्याटेलाइट अन्तरिक्ष ५४० किलोमिटरमा लगेर छाडेको ओरियन स्पेसका प्रमुख राकेशचन्द्र प्रजापतिले जानकारी दिए ।

‘सानो स्याट–१’ भक्तपुरको ओरियन स्पेसले निर्माण गरेको हो । २५० ग्राम तौल भएको यो स्याटेलाइट ५ सेन्टिमिटर घनाकारको छ । खल्तीमा पनि अट्न सक्ने यो स्याटेलाइटलाई ‘पकेट क्युब स्याट’ पनि भनिन्छ ।

यो स्याटेलाइटमा नेपालको राष्ट्रिय झन्डा अंकित छ । यस्तै, दुई स्याटेलाइट निर्माणमा विभिन्न समयमा संलग्‍न भएका दुई दर्जन बढीको नाम पनि अंकित छ । यो स्याटेलाइट निर्माणमा सबैभन्दा बढी इन्जिनियरद्वय सौरभ पौडेल र जितेन थापा खटिएको उनले बताए ।

अन्तरिक्षमा हुँदा यो फुच्चे स्याटेलाइटले ७ किलोमिटर प्रतिसेकेन्डको गतिमा पृथ्वीलाई हरेक ९० मिनेटमा एक फन्को लगाउने प्रजापतिले बताएका छन् । सानो स्याटको आयु २ वर्षको हुनेछ । यसले पृथ्वीको कक्षमा हुने गामा रेडिएसनको मात्रा नाप्ने र दोस्रो सर्ट म्यासेज रिले गर्ने काम गर्नेछ ।

फुच्चे स्याटेलाइटको ग्राउन्ड स्टेसन भक्तपुरको सूर्यविनायकमा छ । ओरियन स्पेसले काठमाडौं विश्वविद्यालयमा ग्राउन्ड स्टेसन निर्माण गर्ने तयारी गरेको छ । यो स्याटेलाइटलाई नास्टको ग्राउन्ड स्टेसनबाट पनि मोनिटरिङ गर्न सकिनेछ ।
स्याटेलाइटको इन्जिनियरिङ मोड्युल नेपालमै तयार भएपछि परीक्षणका लागि स्पेन पठाइएको थियो ।

स्पेनमा उक्त मोड्युलले अन्तरिक्षमा काम गर्छ–गर्दैन भनेर कृत्रिम अन्तरिक्ष वातावरणमा परीक्षण गरिएको थियो । यो फुच्चे स्याटेलाइटलाई अन्तरिक्षसम्म पुर्‍याउनका लागि ओरियन स्पेसको करिब ४० लाख रुपैयाँ खर्च गरेको पनि जनाएको छ।

प्रकाशन मिति–२०७८ साल पुस २९ गते विहीवार ।