काठमाडौं। नेपालमा हाल पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको कारण व्यापक जाडो भएको छ। त्यस्तैगरेर कतिपय स्थानमा सामान्य देखि हल्का बर्षा हुने क्रम जारी रहेको छ। देशका पश्चिमी भू–भागहरुमा सामान्यदेखि पूर्णबदली रही बाँकी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ।

बुधबार काठमाडौं उपत्यकासहित देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौं उपत्यकासहितका स्थानमा आज बुधबार र भोलि बिहीबार वर्षाको सम्भावना देखिएको मौसमविद् सचिना शाक्यको भनाई छ।

मौसमविद् शाक्यकाअनुसार काठमाडौं उपत्यकासहित मध्य क्षेत्रका नुवाकोट, धादिङ, मकवानपुरलगायतका स्थानमा वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा भने मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले बुधबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार बुधबार दिउँसो देशभर सामान्यदेखि पूर्णबदली रहनेछ। पश्चिम र मध्यका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, पूर्वी भू–भागमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको छ।
प्रकाशन मिति–२०७६ साल पुस २३ गते बुधवार ।