काठमाडौं। कोरोना संक्रमणले विश्व अर्थतन्त्रमा परेको प्रभाव तथा साउदी अरेयिबा र एसियाबीचको तेलको मूल्यमा भएको होडबाजीले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ।

सोही गिरावटको कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा कमी आइरहेको वर्तमान अवस्थामा नेपालको तेल बजारमा सोमवारवाट बल्ल तेलको मूल्य घटाएको छ। नेपाल आयल निगमले सोमवार राति १२ बजेवाट लागूहुने गरी तेलको मूल्य घटाएको हो।

जसअनुसार, डिजेल पेट्रोल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँले मूल्य घटाएको छ। यस्तै हवाई इन्धन आन्तरिकतर्फको मूल्य ४ रुपैयाँ ५० पैसाले घटाएको छ भने, एलपीजी ग्यास र हवाई इन्धन अन्तराष्ट्रियको मूल्य भने पुरानै कायम गरेको छ।

नयाँ मूल्यअनुसार अब उपभोक्ताले डिजेल र मट्टितेलमा प्रतिलिटर ९५ रुपैयाँँ, पेट्रोल १०६ रुपैयाँ प्रतिलिटर र हवाई इन्धन आन्तरिकतर्फ ९० रुपैयाँ प्रतिलिटर मूल्य तिर्नुपर्ने भएको छ।
प्रकाशन मिति–२०७६ साल चैत्र ३ गते सोमवार ।