काठमाडौं। नेपालमा फेरि १५ दिन लकडाउन थपिएको छ। नेपाल सरकारले कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणको जोखिम कम नभएको निष्कर्ष निकाल्दै जारी लकडाउन १५ दिन थप्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को आइतबारको बैठकले जेठ २० गतेसम्म लकडाउन यथास्थितिमै जारी राख्ने निर्णय गरेको हो। पछिल्लो पटक थपिएको लकडाउनको अवधि जेठ ५ गते सोमबार सकिनै लागेको अवस्थामा लकडाउन फेरि थपिएको हो।

आइतबार बसेको कोरोनाभाइरस संक्रमण नियन्त्रण तथा रोकथाम सम्बन्धी उच्चस्तरीय समितिको बैठकले जोखिमको अवस्थाबारे समीक्षा पनि गरेको थियो। समितिले जोखिमको अवस्था झन् बढे जस्तो देखिएकाले तत्काल लकडाउन अन्त्य गर्न नसक्ने निष्कर्ष निकालेको थियो।

पछिल्लो दुई दिनयता संक्रमणका कारण दुई जनाको मृत्यु भएको र दिनहुँ धेरै संख्यामा संक्रमित बढिरहेकाले सुरुका दिनभन्दा अहिले जोखिमको मात्र बढ्न थालेको समितिको ठहर थियो। समितिको त्यही निष्कर्षको आधारमा मन्त्रिपरिषद्को बैठकले १५ दिन लकडाउन लम्बाउने निर्णय गरेको हो।

लकडाउनको अवधिमा पनि यसअघि गरेका निर्णयहरु अनुसारका कृषि उद्योग, ढुवानी, निर्माणसँग सम्बन्धित कामहरु स्वास्थ्य सुरक्षा अपनाएर जारी रहने भएको छ।
प्रकाशन मिति–२०७७ साल जेठ ४ गते आइतवार ।