काठमाडौं। नेपालमा अरब सागर र बंगालको खाडीबाट आइरहेको जलवास्पयुक्त वायुको प्रभावले मनसुनी गतिविधि केही सक्रिय रहेको जनाइएको छ। नेपालको मौसम पूर्वानुमान महाशाखाका अनुसार, मनसुन अझै सक्रिय रहने देखिएको छ।

हाल मनसुनी न्यूनचापीय रेखा औसत स्थानभन्दा केही उत्तरतर्फ रहेको छ । भारतको गुजरात र अरब सागर आसपासमा न्यूनचापीय प्रणाली रहेको जनाइएको छ। सोही कारण अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही पूर्व र मध्यका केही र पश्चिमका एक–दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

शनिबार दिउँसो देशभर सामान्य बदली रहनेछ। महाशाखाकाअनुसार शनिबार दिउँसो देशको पूर्वदेखि पश्चिमसम्मका केही स्थानहरुमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । यस्तै, देशका मध्य तथा पूर्वका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ।शनिबार राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।

देशको पूर्वदेखि पश्चिमसम्मै अधिकांश स्थानहरुमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। देशका पूर्व र मध्यका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाले शनिबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आइतबार दिउँसो देशभर सामान्य बदली रहनेछ।

देशका केही स्थानहरुमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। देशका मध्य तथा पूर्वका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आइतबार राति देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले जनाएको छ।
प्रकाशन मिति–२०७६ साल असोज ११ गते शनिवार ।