काठमाडौं। नेपालमा युवायुवती तथा बालबालिकामा मानसिक स्वास्थ्य समस्या बढी देखिन थालेको छ। नेपालमा सात बालबालिकामध्ये एक तथा पाँच युवायुवतीमध्ये एकमा सो समस्या हुनसक्ने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ।

मनोसामाजिक, आर्थिक, जैविक, वातावरणीय आदि कारणले व्यक्तिको भावना एवम् सोचाईमा आउने विचलनले गर्दा देखिने भावनात्मक, संवेगात्मक, समाजिक तथा व्यवहारिक परिवर्तनलाई मानसिक स्वास्थ्य समस्याका रुपमा सो सङ्गठनले परिभाषित गरेको छ।

मानसिक स्वास्थ्य समस्याले असामान्य रुपमा व्यक्तिको भावना, सोचाई र व्यवहारिक परिवर्तन गराइदिन्छ । यसले गर्दा व्यक्तिको दैनिक क्रियाकलाप, व्यवहार र सम्बन्धमा समेत असर पुग्दछ। यस्तो समस्या जनुसुकै लिङ्ग तथा उमेर समूहलाई हुने मनोचिकित्सकले जनाएका छन्।

पछिल्लो जनगणना अनुसार १६ देखि ४० वर्ष उमेर समूहमा यो समस्या ४० प्रतिशत रहेको पाइएको छ। ती समूहभित्रका करीब २२ लाख युवायुवती मानसिक स्वास्थ्य समस्याबाट प्रभावित हुनसक्ने प्रक्षेपण मन्त्रालयले गरेको छ।

बाल्यकालमा नमीठा अनुभव, आघातजन्य घटना, लैङ्गिक तथा यौनजन्य हिंसा, समाजिक विभेद्, साथीहरुबाट खिसिट्युरी, आर्थिक विपन्नतालगायतका कारणले मानसिक स्वास्थ्य समस्या देखा पर्दछन् । विश्वस्वास्थ्य सङ्गठनले विश्वमा हरेक ४० सेकेण्डमा एक जनाले मानसिक समस्याका कारण आत्महत्या गर्ने गरेको जनाएको छ।
प्रकाशन मिति–२०७५ साल कात्तिक १३ गते मंगलवार।