काठमाडौं। नेपालमा कोरोनाभाइरसको जोखिम दिनानुदिन बृद्धि हुने संभावना भएको कारण एक हप्ताको लागि गरिएको लकडाउन थप दुई हप्ता हुनसक्ने संभावना देखिएको छ। भारतमा जस्तै नेपालमा पनि २१ दिन लकडाउन गर्ने सोचमा नेपाल सरकार रहेको जनाउ नेपालका पर्यटन मन्त्री योगेश भट्टराईले दिएका छन्।

अनलाइन खवरसंगको कुराकानीमा एकहप्ताको लकडाउनमा थप दुईहप्ता नेपाली जनताले व्यहोर्नुपर्ने अवस्था आउन सक्ने संभाव्यतालाई मन्त्री भट्टराईले औल्याएका छन्। एकहप्ताको लकडाउनमा नेपाली जनताले लापरवाही गरेमा देशले ठूलो क्षति व्यहोर्नुपर्ने संभावनालाई मध्यनजर गरेर सरकारले देशभर एक लाखभन्दा बढी मान्छे राख्ने गरि क्वारेन्टाइन व्यवस्थापन शुरु गरेको छ।

उच्चस्तरीय समन्य समितिले पर्यटनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा गठन गरेको क्वारेन्टाइन व्यवस्थापन समितिले नगरकोटमा मात्रै २ हजार जनालाई राख्न मिल्ने गरी क्वारेन्टाइन बनाउन लागेको हो। मन्त्री भट्टराईले नगरकोटका होटलहरु र दुवाकोटस्थित केएमसी अस्पतालमा क्वारेन्टाइन बनाउन बुधवार स्थगलत निरीक्षण गरी सहमति जुटाएका छन् ।

क्वारेन्टाइनमा हुनुपर्ने न्युनतम मापदण्डसहित व्यवस्थित गरिने भएको छ। मन्त्री भट्टराईका अनुसार केन्द्र सरकारले ५ हजारजनाका लागि क्वारेन्टाइन व्यवस्था गरेको छ भने प्रदेशहरुले दुई–दुई हजारको क्वारेन्टाइन बनाउँदैछन् । त्यस्तै ६ वटा महानगरपालिकालाई पनि दुई–दुई हजार राख्ने गरी क्वारेन्टाइन बनाउन भनिएको छ। उपमहानगरपालिकाले एक–एक हजार र ७७ जिल्लामा कम्तिमा एक–एक हजारका क्वारेन्टाइन बन्दैछन्।


प्रकाशन मिति–२०७६ साल चैत १२ गते बुधवार ।