काठमाडौ। नेपालमा विमानको म्युजियम बनेको छ। इन्डोनेसियाली विमान लायनका क्याप्टेन बेद उप्रेतीको एक प्रयासमा विश्वकै नमूना मानिएको विमानको म्युजियम बनेको हो। रु सात करोडको लगानीमा उक्त म्युजियम काठमाडौँको सिनामंगलमा खुलेको हो। जसको नाम ‘एभिएसन म्युजियम’ राखिएको छ। म्युजियम विश्वकै फरक र अनौठो मानिएको छ।

टर्किस एयरको एयरबस–३३० लाई एभिएसन म्युजियम बनाइएको हो । करिब रु २५ अर्ब ६४ करोड पर्ने उक्त अत्याधुनिक एयरबस काठमाडौँमा अवतरण गर्ने क्रममा विसं २०७१ फागुन २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेको छेउमा चक्का धसिई ग्राउण्डेड भएको थियो । सो विमानलाई उप्रेती ट्रष्टले खरिद गरी नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)सँग सहकार्य गरेर संग्रहालय बनाएको हो। जम्मा आठ महिना उडेको उक्त विमान अत्याधुनिक र एकदमै महँगो एयरबस हो।

एयरबस–३३० अहिलेसम्म कुनै पनि एभिएसन संग्रहालयमा राखिएको छैन। विश्वकै ठूलो एभिएसन संग्रहालय संयुक्त राज्य अमेरिकाको वासिङटन डिसीमा रहेकोे छ, तर यति महँगो एयरबस– ३३० अहिलेसम्म कतै राखिएको छैन, जुन नेपालका एक व्यक्तिको पहलले सफल भएको छ।

राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय नागरिक उड्डयनका क्षेत्रमा स्थापित विमानचालक उप्रेतीले स्थापना गरेको संग्रहालयले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । उड्डयन क्षेत्रमा युवा पुस्तालाई आकर्षण गर्ने र पर्यटनको नयाँ गन्तव्य स्थापित गर्ने उद्देश्यले एभिएसन संग्रहालय शुरु गरिएको क्याप्टेन उप्रेतीको भनाइ छ।

प्रत्येक बिहान १० देखि साँझ ५ बजेसम्म खुल्ने सो संग्रहालय अवलोकनका लागि नेपालीलाई रु ३०० र विदेशीलाई रु ६०० शुल्क तोकिएको छ । कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई निःशुल्क र विद्यार्थी परिचयपत्र हुने अन्यलाई ५० प्रतिशत छुटको व्यवस्था गरिने ट्रष्टले जनाएको छ।
प्रकाशन मिति–२०७४ साल कात्तिक १८ गते शनिवार ।