काठमाडौं। विश्वका १ सय २० मुलुकमा छरिएर रहेका नेवारहरुको समन्वय तथा एकताको लागि संगठित विश्व नेवाः अर्गनाइजेशनको तेश्रो महाधिबेशन नेपालमा उदघाटन भएको छ।

शुक्रवार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित भव्य समारोह वीच शताव्दी पुरुष डा.सत्यमोहन जोशीको प्रमुख आतिथ्यता तथा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको विशेष आतिथ्यतामा विश्व नेवाः अर्गनाइजेशनको तेश्रो महाधिवेशनको उदघाटन भएको हो।

उदघाटन समारोहमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले विश्वभर रहेका नेवार एकताको लागि गरिएको यसप्रकारको महाधिवेशन अत्यन्त महत्व र आवश्यक रहेको जिकिर गरेका छन्। मेयर शाक्यले यसले सवैलाई एकतामा उन्नमा सहयोग पुग्ने दावी पनि गरेका छन्।

उदघाटन कार्यक्रममा सामूहिक रुपमा विश्व नेवाः अर्गनाइजेसनको तेश्रो महाधिवेशनको स्मारिका तथा शशिकला मानन्धरव्दारा लिखित कितावको पनि विमोचन गरिएको थियो।

विभिन्न क्षेत्रमा विशिष्ट योगदान दिने जनकवि दुर्गालाल श्रेष्ठ देखि व्यावसायिक पत्रकारिताका धरोहर पुष्करलाल श्रेष्ठसम्म गरेर १० जना नेवार अगुवाहरुलाई विशिष्ट सम्मान पनि प्रदान गरिएको थियो। यसअघि विश्व नेवाः अर्गनाइजेशनको महाधिवेशन बेलायत र अमेरिकामा भैसकेको छ।
प्रकाशन मिति–२०७५ साल चैत्र १५ गते शुक्रवार ।