काठमाडौं। नेपालमा शक्तिशाली महाभूकम्प गएको आज बैशाख १२ गतेवाट चार बर्ष पूरा भएको छ। आजकै दिन विसं.२०७२ साल बैशाख १२ गते शक्तिशाली महाभूकम्प गएको हो। जसवाट धनजनको अपूरणिय क्षति भएको थियो।

चार बर्ष अघि आजैको दिन वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दू बनाएर ७ दशमलव ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो। विनाशकारी शक्तिशाली महाभूकम्पले नौ हजारभन्दा बढी नेपालीको ज्यान लिएको थियो।

१८ हजारभन्दा बढीलाई घाइते बनाएको यो दिन निक्कै दुःखदायी र त्राशदीपूर्ण दिनको रुपमा मानिन्छ। वैशाख १२ गतेको भूकम्पबाट नेपालको १४ जिल्ला अतिप्रभावित बनेको थियो । त्यसको प्रत्यक्ष असर ३१ जिल्लामा पनि परेको थियो। नीजि घर तथा सरकारी भवन गरेर करिब नौ लाख घर तथा भवन काम नलाग्ने गरेर भत्किएको थियो । विसं.२०७२ सालको महाभूकम्पपछिका समयमा भूकम्प जाने क्रममा अझै बृद्धि भैरहेको छ।

भूकम्पविदहरुले भने अहिले आइरहेका भूकम्पहरु भूकम्प नभएर आफ्टरशक अर्थात परकम्पनहरु रहेको बताएका छन्। ठूलो भूकम्पले दरार पैदा गरेको ठाउँमा जाने भूकम्पलाई परकम्प भनिन्छ भने ठूलो भूकम्पले प्रभाव नपारेको नयाँ ठाउँकोलाई भूकम्प भनिन्छ। २०७२ साल यताको चार बर्षमा झण्डै ४५ हजार परकम्प आएको भूकम्प मापन केन्द्रले जनाएको छ। त्यसबीचमा कुनै महिना दिनहुँजसो धेरै संख्यामा र कुनै महिना दिन बिराएर परकम्प आउने गरेको छ।

 

भूकम्पविद्का अनुसार कुनै स्थानमा ठूलो भूकम्प गएपछि त्यहाँ धेरै बर्षसम्म निरन्तर निरन्तर साना स्केलका भूकम्प जाने गर्छ, जसलाई परकम्प भन्ने गरिन्छ। शक्तिशाली भूकम्पपछि सबै शक्ति बाहिर नआएको कारण पटक पटक भूकम्प जाने भूकम्पविदहरु बताउंछन्। नेपाल भूकम्पीय दृष्टिकोणले संवेदनशील क्षेत्रको रूपमा रहेको विज्ञहरुले बताउँदै आइरहेका छन्।

नेपाल इन्डियन प्लेटमाथि रहेको र उत्तरमा रहेको युरेसिएन प्लेटसँग इन्डियन प्लेट जोडिएको ठाउँमा रहेको छ। यी दुई प्लेटबीच संघर्ष हुँदा नेपाललाई भूकम्पीय जोखिमयुक्त क्षेत्रका रूपमा लिने गरिएको छ। झन्डै पाँच करोड वर्षअघि दक्षिणको इन्डियन प्लेट उत्तरको युरेसिएन प्लेटसँग ठोक्किएको अध्ययनकर्ताको अनुमान छ। यसले गर्दा पनि नेपालमा भूकम्पको जोखिम यथावत रहेको छ।
प्रकाशन मिति–२०७६ साल बैशाख १२ गते विहीवार ।