काठमाडौं। नेपालका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना खोप सबै नेपालीलाई निःशुल्क उपलब्ध गराउने बताएका छन् । अर्थ मन्त्रालयमा शुक्रबार आर्थिक पत्रकार संघका पत्रकारहरुसंगको भेटमा मन्त्री पौडेलले कोरोनाका उपचार जस्तै खोप पनि सबैलाई निःशुल्क उपलब्ध गराइने बताएका हुन्।

मन्त्री पौडेलले कोरोनाको खोप किन्न सरकारसँग आर्थिक स्रोतको कुनै कमी नरहेको पनि दाबी गरेका छन्। खोप किन्न सरकार सक्षम रहेको बताउँदै मन्त्री पौडेलले खोप खरिद गर्न सरकारसँग आर्थिक आभाव भएको भन्दै मिडियामा आएका समाचार गलत भएको टिप्पणी गरेका छन् । कोभिड–१९ विरुद्धको खोप पहिलो चरणमा फ्रन्टलाइनमा खटिएका र वृद्धवृद्धालाई र त्यसपछि बाँकीलाई लगाइने मन्त्री पौडेलले स्पस्ट पारेका छन्।

मन्त्री पौडेलले विश्व बजारमा भ्याक्सिन आउनासाथ किन्ने गरी सरकारले उत्पादक देश र कम्पनीहरुसँग सम्बाद गरिरहेको समेत जानकारी दिएका छन्। उपलब्ध भ्याक्सिनहरुमा कम लागत र गुणस्तरीयतालाई सरकारले मापदण्ड बनाएको पनि मन्त्री पौडेलले भनेका छन्।


प्रकाशन मिति–२०७७ साल पुस ३ गते शुक्रवार ।