काठमाडौं। नेपालमा कोरोनाभाइरस (कोभिड–१९) को महामारीको कारण चैत ११ गतेवाट जारी लकडाउन देखि बन्द भएको सवारी साधन भोलि साउन ५ गते सोमवारवाट सञ्चालन हुने भएको छ। नेपाल राष्ट्र बैंकव्दारा जारी मौद्रिक नीतिले ब्यवसायीको माग समेटेको भन्दै सार्वजनिक सवारीसधान सञ्चालन गर्न व्यवसायीहरु तयार भएपछि सञ्चालन हुने भएको हो।

सरकारले असार २६ गते सवारी सञ्चालन गर्ने निर्णय गरेपछि विभिन्न माग राख्दै आएका व्यवसायीहरु यातायात सञ्चालन गर्न तयार भएका हुन्। हाल जिल्लाभित्र मात्र यातायात सञ्चालन गर्न पाइने छ। उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुरमा सञ्चालन हुनेछन्। केही दिनयता साझा यातायात, मयुर यातायात, सुन्दर यातायात र संयुक्त यातायात लगायत माइक्रो र टेम्पुहरु सञ्चालनमा आएका छन्। व्यवसायीहरुले लामो दुरीको सवारी सञ्चालनका लागि समेत तयारी भइरहेको बताएका छन्।

आइतवार यातायात व्यवस्था विभागमा भएको छलफलमा व्यवसायीहरुले भोलिबाट सबैखाले यातायात सञ्चालन गर्ने बताएका छन्। विभागका महानिर्देशक गोगनबहादुर हमालले भोलि (सोमवार) बिहानबाट यातायात सञ्चालन हुने बताए। कोभिड संक्रमणको डर अझै रहेकाले स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय कडाईका साथ पालना गर्न पनि महानिर्देशक हमालले आग्रह गरेका छन्।


प्रकाशन मिति–२०७७ साल साउन ४ गते आइतवार ।