काठमाडौं। नेपालमा सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि हुँदै गएको तथ्य सार्वजनिक भएको छ। नेपाल सरकारले ग्रामीण भेगसम्म सरकारी स्वास्थ्य संस्थाबाट निःशुल्क सुरक्षित गर्भपतनको सेवा प्रदान गर्न थालेपछि सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि हुँदै गएको हो।

स्वास्थ्य संस्थाबाट हालसम्म १० लाखभन्दा बढी महिलाले सुरक्षित गर्भपतनको सेवा लिइसकेको दावी ग्रामीण महिला सञ्जाल नेपालको रहेको छ। संस्थावाट चालु आर्थिक वर्षमा ९६ हजार महिलाले सुरक्षित गर्भपतनको सेवा लिएको बताएको छ।
नेपालका ग्रामीण भेगसम्म महिलालाई सुरक्षित गर्भपतन सेवाको पहुँच सुनिश्चित गर्न तीन हजारको सङ्ख्यामा चिकित्सक, नर्स तथा अनमीलाई तालिम प्रदान गर्नाका साथै करीब एक हजार १०० स्वास्थ्य संस्थाबाट यस्तो सेवा उपलब्ध गराउँदै आएको छ।

नेपालको मुलुकी ऐन ११ औँ संशोधनको परिच्छेद–४ मा सुरक्षित गर्भपतनको व्यवस्था गरिएको छ । जसअनुसार गर्भधारण गरेको १२ हप्तासम्मको गर्भलाई गर्भपतन गर्न पाइने व्यवस्था छ। अनिच्छित वा बलात्कृत भएरगर्भपतन गराउनु परेमा २८ हप्तासम्मको गर्भलाई कानूनी मान्यता प्रदान गरिएको छ।

ग्रामीण महिला सञ्जाल नेपालका कार्यक्रम संयोजक सम्झना पहाडीले सरकारले सुरक्षित गर्भपतनको सेवालाई सबै जिल्लामा निःशुल्क गरेपनि अझै ५८ प्रतिशत महिलाले असुरक्षित वा सरकारले मान्यता नदिएको स्वास्थ्य संस्था तथा व्यक्तिबाट गर्भपतन गराइरहेको खुलासा गरेकी छन्।

आधुनिक गर्भ निरोधका साधनको प्रयोग दर हाल ४३ प्रतिशत रहेको र विवाहित किशोरीको आधाजसो गर्भ अनिच्छित हुने गरिएको तथा त्यस्तो गर्भका कारण किशोरीको गर्भले उनीहरुको स्वास्थ्य, शिक्षा, रोजगार तथा वृत्तिविकासमा बाधा पर्ने भएकाले गर्भपतन गर्न बाध्य हुने गरिएको सो संस्थाले जनाएको छ ।
प्रकाशन मिति–२०७५ साल पुष २ गते सोमवार ।