काठमाडौं। नेपालमा सुर्तीजन्य पदार्थ खैनी, चुरोट सेवनका कारण प्रतिवर्ष २७ हजार मानिसहरुले मृत्युवरण गर्ने गरेका छन्। त्यस्तै सुर्तीसेवनकै कारण सिर्जित मुटुरोगका कारण वार्षिक १४ हजार मानिसको मृत्यु हुने तथ्य सार्वजनिक भएको छ।

नेपाल विकास प्रतिष्ठानले गरेको एक अध्यनले दक्षिण एसियाली मुलुकहरुमा नेपाल सुर्तीजन्य पदार्थको सेवनका हिसाबले दोस्रो स्थानमा रहेको देखाएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सुर्तीजन्य पदार्थमा ७० प्रतिशतले कर उठाउनुपर्ने मापदण्ड तोकेको छ। तर, नेपालले सुर्तीजन्य पदार्थमा ३० प्रतिशत मात्र कर लगाउँदै आएको छ। सोही कारण पनि नेपालमा सुर्तिजन्य पदार्थ अत्यधिक खपत भएको अध्यनको निष्कर्ष छ।

३० प्रतिशत कर उठाए पनि सुर्तीजन्य पदार्थमा लगाइएको करबाट नेपालले वार्षिक ५ अर्बभन्दा बढी आम्दानी गरिरहेको छ। तर, सुर्तीजन्य पदार्थविरुद्ध जनचेतनामूलक कार्यक्रममा १ करोड पनि खर्च गरेको पाइँदैन। सोही कारण नेपालमा सुर्तिजन्य प्रयोग गरेर मृत्युवरण गर्नेहरु बढी भएको अध्ययनले निष्कर्ष निकालेको छ।
प्रकाशन मिति–२०७६ साल मंसीर १० गते मंगलवार ।