काठमाडौं। नेपालमा २४ घण्टाका लागि विदेशी टेलिभिजन च्यानलहरु बन्द भएको छ। विज्ञापन सहित प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरु सोमवार दिउंसो देखि मंगलवार दिउंसो ३ बजेसम्मका लागि बन्द भएको हो।

प्रस्तावित विज्ञापन ऐन २०७६ प्रति असहमति जनाउँदै टेलिभिजन सेवा प्रदायकहरुले विज्ञापन प्रसारण हुने विदेशी च्यानलहरु २४ घन्टाका लागि बन्द गरेका हुन्। इन्टरनेट तथा डिजिटल टीभी समन्वय समिति र नेपाल केबल टेलिभिजन महासंघले संयुक्तरुपमा विदेशी च्यानलहरु बन्द गराएका हुन्।

विज्ञापन नभएका विदेशी च्यानलको भने प्रसारण नरोकिएको महासंघले जनाएको छ। संसदमा पुगेको ‘प्रस्तावित विज्ञापन ऐन, २०७६’ मा विज्ञापनसहित आउने विदेशी च्यानलहरु नेपालमा प्रसारण गर्न नपाउने उल्लेख छ। उक्त व्यवस्था लागू गर्दा उत्पन्न हुने परिस्थितिको जानकारी गराउन भन्दै सेवा प्रदायकहरुले च्यानलहरु बन्द गराएको जनाएका छन्। नेपालमा प्रसारण हुने विदेशी च्यानलहरुमध्ये अधिकांशमा विज्ञापन रहेको छ।

कुनैपनि विदेशी च्यानलले नेपालमा प्रसारणका लागि विज्ञापनरहित लिंक उपलब्ध गराउनुपर्ने भएकाले विज्ञापनरहित प्रसारण व्यावहारिकरुपमा लागू गर्न अप्ठ्यारो हुने जनाइएको छ। भारतीय ब्रोडकास्टर फोरमले विज्ञापनरहित च्यानल दिन नसक्ने जनाइसकेको छ। टेलिभिजन प्रदायकहरुले प्रस्तावित विज्ञापन ऐन लागू भएमा डिजिटल टेलिभिजन व्यवसाय नै धरापमा पर्ने दाबी गरेका छन्।
प्रकाशन मिति–२०७६ साल असार ९ गते सोमवार ।