काठमाडौं। कोरोनाभाइरसको अनेक भेरियन्टको वर्तमान कोरोनाको महामारीमा व्यापक चर्चा तथा परिचर्चा भैरहेको अवस्थामा नेपाल भेरियन्ट पनि चर्चामा आएको छ। चीनको वुहानबाट शुरु भएको कोभिड–१९ को हालसम्म हजारभन्दा बढी भेरियन्ट विकास भइसकेको वैज्ञानिकहरुको आँकनलाई टेवा दिने हिसावले बेलायती विश्वप्रसिद्ध अखबार डेलीमेलले भ्रामक नेपाल भेरियन्टको वारेमा समाचार लेखेपछि विहीवारवाट एकाएक नेपाल भेरियन्टको व्यापक चर्चामा आएको हो।

नेपाल भेरियन्टबारे उल्लेख गरेपनि उक्त खबरमा त्यससम्बन्धि अनुसन्धान रिपोर्टका कुनै विषय जिकिर गरिएको छैन। बरु भारतमा देखिएको नयाँ भेरियन्टका कारण नेपालमा दोस्रो लहर चलेको भनिएको छ। भारतबाट नेपाल प्रवेश गरेको नयाँ भेरियन्टकै कारण म्युटेन्ट भई नेपाल भेरियन्ट पनि बनेको र युरोप प्रवेश गरेको तथ्यहीन खबर डेलीमेलले प्रकाशित गरेको छ।

कोरोना महामारीले संसार त्रसित बनिरहेका बेला कुनै पनि तथ्य आधिकारिकता बिना यस्ता समाचार सम्प्रेषण गर्नु जनमानसमा आतंक सृजना गर्ने कार्य मात्र भएको छ। अनेकन सनसनीपूर्ण खबर प्रकाशित गर्ने बेलायती ट्याब्लोइड अखबार डेलीमेलले लेखेको समाचारमा नेपाली भेरियन्टको कोरोना भाइरसले बेलायतीको बिदा जोखिममा पार्न सक्ने उल्लेख गरिएको छ।

निकै प्राथमिकताका साथ कभर स्टोरी प्रकाशित खबरमा नेपाली म्युटेन्ट स्ट्रेनले भ्याक्सिनलाई समेत प्रतिरोध गर्न सक्ने भन्दै लेखिएको छ, ‘वैज्ञानिकहरुले नेपालमा उत्पत्ति भएर युरोपभर फैलिएको अनुमान गरेको नयाँ म्युटेन्ट स्ट्रेन बारेमा मन्त्रीहरूलाई सचेत गराएका छन् । नेपाली म्युटेन्ट स्ट्रेनले भ्याक्सिनलाई समेत प्रतिरोध गर्न सक्ने डर उनीहरुको छ ।’

नेपाली भेरियन्ट युरोपमा सबैभन्दा धेरै पोर्चुगलमा देखिएको हुनसक्ने र यसैका कारण पोर्चुगलले बेलायती सूचीको ‘ग्रीन स्टाटस’ गुमाउन सक्ने पनि भनिएको छ । तर बेलायती अधिकारीले भने नेपाली भेरियन्ट आए पनि धेरै चिन्ता लिन नपर्ने बताएको भन्दै अखबार लेख्छ, ‘हजारौं भेरियन्ट छन् । यो भाइरस हरेक समयमा परिवर्तन भइरहन्छ।’

यसरी नेपाललाई नै थाहा नभएको नेपाल भेरियन्टको वारेमा बेलायती पत्रिकाले सनसनीपूर्ण समाचार प्रकाशित भएपछि नेपाल सरकारले बेलायत सरकारसंग यसवारेमा जानकारी माग गरेको छ।

नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले नेपालमा नयाँ भेरियन्ट भेटिएकोबारे बेलायत सरकारसँग भएको जानकारी पठाउन विहीवार बिहान त्यहाँको इन्टरनेशनल हेल्थ रेगुलेशनलाई इमेलमार्फत पत्राचार गरेको खुलासा गरेका छन्।

नेपालमा सार्स–कोभ–२ को नयाँ भेरियन्ट फेला परेको जानकारी नभएको विश्व स्वास्थ्य संगठनले पनि बताएको छ । बेलायतले पनि हालसम्म नेपालबाट फर्किएकाहरुमा डेल्टा भेरियन्ट भेटिएको बताएको तर नयाँ भेरियन्टबारे आधिकारिक जानकारी नगराएको डा.पौडेलले भनेका छन्।

नेपालमा कुन भेरियन्ट फैलिएको भन्नेबारे नियमित अध्ययन भइरहेको समेत डा.पौडे्लले बताएका छन् । तर नयाँ भेरियन्टबारे हाम्रो जानकारीमा नभएको पनि डा.पौडे्लको जिकिर रहेको छ।
प्रकाशन मिति–२०७८ साल जेठ २० गते विहीवार ।