काठमाडौं। कोरोनाको महामारी झेलिरहेको नेपालले कोरोनाभाइरस विरुद्धको भ्याक्सिन खरिद गर्ने भएको छ। त्यसका लागि सरकारले ७० अर्ब रुपैयाँ लाग्ने आकलन गरिएको छ। त्यसका लागि आर्थिक स्रोत जुटाउन छलफल सुरु गरिएको छ। १२ वर्ष माथिका नागरिकका लागि ६० अर्बभन्दा बढी बजेट लाग्ने अनुमान छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डाक्टर जागेश्वर गौतमका अनुसार, ८० प्रतिशत नागरिकलाई खोप लगाउन ६० देखि ७० अर्ब बजेट लाग्ने अनुमान छ । नेपालले अमेरिका, बेलायत, चीन, रुसलगायत मुलुकमा परीक्षण भइरहेका खोपमध्ये प्रभावकारिता र गुणस्तरका आधारमा खरिद गरिनेछ। निजी क्षेत्र, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, दातृ निकायका साथै विकास साझेदारको पनि सहयोग लिने योजना छ।

खोप प्रभावकारी रहेको पुष्टि हुनेबित्तिकै नेपाल ल्याउन सरकारले अर्थ, परराष्ट्र तथा स्वास्थ्य मन्त्रालयका सचिव सम्मिलित समिति गठन गरेको छ। स्वास्थ्य मन्त्रालयअन्तर्गतको बाल स्वास्थ्य महाशाखाका पूर्वनिर्देशक तथा खोपविज्ञ डा. श्यामराज उप्रेतीको नेतृत्वमा गठित विज्ञ समितिले परामर्श गरिरहेको छ। अहिले दर्जनभन्दा बढी खोप तेस्रो चरणको क्लिनिकल परीक्षणमा छन्।
प्रकाशन मिति–२०७७ साल मंसीर ७ गते आइतवार ।