काठमाडौं। नेपालको चारदिने औपचारिक सदभावना भ्रमण पूरा गरी बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद शुक्रबार साँझ स्वदेश प्रस्थान गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा मंगलबार नेपाल भ्रमणमा आएका राष्ट्रपति हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति भण्डारीले बिदाइ गरेकी थिइन्।

नेपाल भ्रमणका क्रममा हमिदले राष्ट्रपति भण्डारीसँग बुधबार भेटवार्ता गरेका थिए। राष्ट्रपति भण्डारीले आफ्ना बंगलादेशी समकक्षी तथा उनले नेतृत्व गरेको प्रतिनिधिमण्डलको सम्मानमा सोही दिन साँझ रात्रिभोजको आयोजना गरेकी थिइन्। भ्रमणका क्रममा बंगलादेशका राष्ट्रपतिसँग उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बेग्लाबेग्लै शिष्टाचार भेट गरेका थिए।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि राष्ट्रपति हमिदसँग शिष्टाचार भेट गरेका थिए। नेपाल बसाइका क्रममा बंगलादेशका विशिष्ट अतिथिले भक्तपुर दरबार स्क्वायर, पोखराका पर्यटकीय क्षेत्रको समेत स्थलगत अवलोकन भ्रमण गरेका थिए।
प्रकाशन मिति–२०७६ साल कात्तिक २९ गते शुक्रवार ।