काठमाडौं। नेपालको परराष्ट्र मन्त्रालयले सोमबार साँझ विज्ञप्ति जारी गर्दै साउदी तेल प्रशोधन केन्द्रमा भएको आक्रमणको निन्दा गरेको छ। बीबीसी नेपाली सेवाका अनुसार, व्यापारिक प्रतिष्ठानहरू समेत यस्ता संवेदनहीन आक्रमणको निशानामा पारिनु खेदजनक छ। राजनीतिक उद्देश्य प्राप्तिका निम्ति बल तथा हिंसाको प्रयोगको नेपाल भर्त्सर्ना गर्दछ, मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।

शनिवार ड्रोन आक्रमणका कारण अब्काइक र खुरैस प्रशोधन केन्द्रमा तत्कालका लागि उत्पादन रोकिएको थियो। सो आक्रमणमा यमनमा सक्रिय इरान समर्थित हूथी विद्रोही जिम्मेवार भएको बताइएको छ। अमेरिकाले सो हमलाको पछाडि इराननै दोषी रहेको भन्दै आएको छ।

साउदी अरबका तेल प्रशोधनस्थलमा दुईवटा आक्रमण भएपछि पेट्रोलियम पदार्थको मूल्य चार महिनामा सर्वोच्च भएको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा सञ्चित तेल वितरण गर्न अनुमति दिएपछि बढेको मूल्य केही घट्यो।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको कारण नेपालमा पनि असर पर्न सक्ने आकलन गरिएका छन्। तर नेपाल आयल निगमका महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलले तत्काल घरेलु बजारमा तेलको भाउ नबढ्ने बताए। नेपाल आयल निगमले आफूलाई आवश्यक हुने पेट्रोलियम पदार्थ भारतीय आयल निगमबाट लिने गरेको छ।

भारतीय आयल निगमले प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिख नयाँ मूल्यसूची पठाउने गर्छ। आज सोमवार नै आएको पछिल्लो मूल्यसूचीमा अन्तर्राष्ट्रिय बजारको उतारचढावको प्रभाव परेको छैन।

अर्को मूल्यसूची अक्टोबर १ तारिखमा आउँदा त्यसको प्रभाव पर्न सक्ने महाप्रवन्धक पौडेलको भनाई रहेको छ। उनका अनुसार विद्यमान मूल्यसूचीका कारण आउँदो दुई सातासम्म नेपालको घरेलु बजारमा त्यसको असरले मूल्य बढ्ने सम्भावना कमै छ।
प्रकाशन मिति–२०७६ साल भदौं २३ गते सोमवार ।