काठमाडौं। भारतसमक्ष नेपालले बिहीबार नयाँ नक्साविरुद्ध ‘कूटनीतिक नोट’ पठाएर विरोध जनाएको छ। भारतले कालापानी, लिपुलेकलगायत भूभागलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको तीन सातापछि नेपालले औपचारिक रूपमा विरोध जनाएको हो।

भारतको गृह मन्त्रालयले नोभेम्बर २ मा कालापानी, लिपुलेकलगायत नेपाली भूभागलाई आफ्नो सीमाभित्र राखेर नक्सा जारी गरेको थियो। नेपालले सुगौली सन्धिको धारा ५ मा कालीनदीपूर्वको भूभाग नेपालको हो भन्ने प्रस्ट उल्लेख भएकाले दुई देशको सीमा पनि त्यहीअनुसार कायम हुनुपर्ने दाबी गर्दै आएको छ। भारतको नयाँ नक्सामा कालीनदी उल्लेख भएपनि त्यसपूर्वको भूभागलाई समेत आफ्नो क्षेत्रभित्र पारेको छ ।

नेपाल सरकारले परराष्ट्र मन्त्रालयमार्फत पठाएको नोटमा भारतद्वारा जारी पछिल्लो नक्सा गलत भएकाले त्यसलाई सच्याउन आग्रह गरिएको छ। स्रोतका अनुसार कालापानीलगायत स्थानमा लामो समयदेखि थाती रहेका सीमांकन प्रक्रियालाई चाँडै अगाडि बढाउनुपर्नेमा समेत नेपालले जोड दिएको छ।  भारतीय पक्षले नेपालका तर्फबाट पठाइएको नोटका सम्बन्धमा कुनै प्रतिक्रिया जनाएको छैन ।
प्रकाशन मिति–२०७६ साल मंसीर ७ गते शनिवार ।