Saf Under 18काठमाडौ। भुटानमा भएको अण्डर–१८ साफ च्याम्पियनसिपको उपाधि नेपालले जितेको छ । बुधबार भएको अन्तिम खेलमा चीर प्रतिद्वन्द्वी भारतलाई २–० ले हराउँदै नेपाल उपाधि जित्न सफल भएको हो।

नेपालले खेलको दोस्रो मिनेटमा नै नेपालका दिनेश हेन्जनले गोल गरी अग्रता बनाएको थियो। खेलको ३७ औँ मिनेटमा दिनेशले नै व्यक्तिगत दोस्रो गोल गरी नेपालको अग्रता दोब्बर बनाए । खेलको सुरुवात देखिनै भारतले नेपालमाथि लगातार आक्रमण गरिरहेपनि नेपालको कडा डिफेन्सका कारण गोल फर्काउन भने असमर्थ भयो।

अण्डर–१८ साफ च्याम्पियनसिपमा नेपाल, भारत, बंगलादेश, भुटान र माल्दिभ्सको सहभागिता थियो । राउन्ड रोबिन लिगका आधारमा भएको प्रतियोगिता शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्ने नियमका आधारमा नेपालले उपाधि जितेको हो।

सुरुको खेलमा भुटानसँग १–० ले पराजित भएको नेपालले गत सोमबार बंगलादेशलाई २–१ ले हराएको थियो भने शुक्रबार माल्दिभ्सलाई २–० गोलले हराएको थियो। भारतसँगको निर्णायक खेलमा उत्कृष्ट प्रदर्शन गरी साविक विजेता (यू–१९ प्रतियोगितालाई यू–१८ को रूपमा परिमार्जन गरेकोले साविक विजेता भनिएको हो) नेपालले उपाधि रक्षा गर्न सफल भएको हो।
प्रकाशन मिति–२०७४ साल असोज १२ गते विहीवार ।