काठमाडौं। नेपालीहरुको मौलिक संवत नेपाल संवत हो। नेपाल संवत अनुसारको आज नयाँ बर्ष ११३९ हो। आज नेपाली मौलिक संवत नेपाल संवत अनुसारको नयाँ बर्ष शुभारम्भ भएको छ। राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरीब जनताको ऋणमोचन गरी नेपाल संवतको शुरुवात गरेका थिए। नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको थियो।

लिच्छविकालका राजा राघवदेवको शासनकालबाट शुरु भएको नेपाल संवत पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रुपमा चलेको थियो। लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो। नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत भएको इतिहासविदहरुको ठहर रहेको छ।

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ।
गरीब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै विसं.२०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले शंखधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए। विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए।

आजैको दिन नेवार समुदायमा म्हः (आत्म) पूजासमेत गरिन्छ। कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसहरुले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन्। मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा रहेको छ।

प्रकाशन मिति–२०७५ साल कात्तिक २२ गते विहीवार । नेपाल संवत ११३९ नयाँ बर्ष ।