काठमाडौं। नेपालीहरु नेपालमा नै बनेका अर्गानिक जाँड–रक्सीभन्दा विदेशी जाँड–रक्सी खानमा खप्पिस रहेको एक अध्ययनले पुष्टि गरेको छ। नेपालको भन्सार विभागको आधिकारिक तथ्याङ्क अनुसार, विदेशवाट नेपालमा प्रत्येक वर्ष एक करोड लिटर भन्दा धेरै महंंगा जाँड–रक्सी अर्थात मदिराको आयात हुने गरेको छ।

आर्थिक वर्ष २०७४/७५ मा मात्रै विभिन्न ब्रान्डका १ करोड १६ लाख २६ हजार ८ सय ३३ लिटर मदिरा आयात भएको देखिन्छ। यसको लागि ३ अर्ब ३ करोड ३८ लाख नेपाली रुपैयाँ विदेश गएको छ। यो वर्षमा ३ लाख १४ हजार लिटर वियर मात्रै आयात भएको छ। यस्तै ९ लाख ४१ हजारको वाइन विभिन्न देशबाट आयात गरिएको तथ्याङकमा उल्लेख छ।

विभिन्न मदिरा र मदिराको बनाउने कच्चा पदार्थ समेत नेपाल आयात गरिने गरेको भन्सार विभागले बताएको छ। तथ्याङक हेर्दा अघिल्लो वर्षको भन्दा यो कम हो। आव २०७३÷७४ मा नेपालमा १ करोड २३ लाख ९३ हजार लिटर मदिरा आयात भएको थियो। यसको लागि ३ अर्ब १२ करोड ३२ लाख रुपैयाँ खर्च भएको थियो। आव २०७२÷७३ मा नेपालमा १ करोड २७ लाख ३६ हजारको मदिरा आयात भएको थियो। यसको लागि २ अर्ब ९९ करोड १८ लाख रुपैयाँ खर्च भएको भन्सार विभागले जनाएको छ।

चालु आवको पहिलो चार महिनामा मात्रै २६ लाख ९९ हजारको मदिरा आयात भएको छ। यसका लागि पनि १ अर्ब २५ करोड रुपैयाँ खर्च भएको भन्सार विभागले उपलब्ध गराएको तथ्याङकमा उल्लेख छ। चालु आवको पहिलो चार महिनामा मात्रै १ लाख ३७ हजार लिटरको वियर आयात भएको छ । यस्तै २ लाख ६१ हजारको वाइन आयात भएको तथ्याङकमा उल्लेख गरेको छ।


प्रकाशन मिति–२०७५ साल मंसीर २० गते विहीवार ।