Nepali Congress
काठमाडौ। नेपालको व्यवस्थापिका संसदमा प्रमुख प्रतिपक्षको रुपमा रहेको नेपाली कांग्रेसको कारण विहीबार संसदको बैठक कार्यसूचीमा नै प्रवेश नगरिकन स्थगन भएको छ। नेपाली कांग्रेस र नेपाल मजदूर किसान पार्टीका सांसदहरुले बेलुका ७ बजेर ३५ मिनेट जाँदा बैठक शुरु भएको सभामुख ओनसरी घर्तीले गर्नासाथ आ–आफ्नो स्थानवाट उठेर विरोध गरेपछि संसद अवरुद्ध बनेको थियो।

दुवै दलवाट विरोध भैरहदा सभामुखले नियमापति गर्न नेपाली कांग्रेसका रमेश लेखकलाई बोल्न समय दिएकी थिइन्। सांसद लेखकले मुलुक अत्यन्त अप्ठ्यारो परिस्थितिमा रहेको र मधेस लामो समयदेखि आन्दोलनमा रहेका अवस्थामा अघिल्लो बैठकका लागि नै तय भइसकेको संविधान संशोधनको कार्यसूची किन हटाइयो भनी प्रश्न गरे।

संविधान संशोधनसम्बन्धी विषय कार्यसूचीबाट हटाइनुपर्नाका कारण सरकारबाट स्पष्ट जानकारी नआएसम्म बैठक चल्न नदिने घोषणा उनले गरे। समानुपातिक समावेशी प्रतिनिधित्व र जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण सम्बन्धमा काँग्रेसको नेतृत्वमा रहेको सरकारले संविधान संशोधनका लागि दर्ता गराएको विधेयक परिमार्जन गरेर अघि बढाउने सम्बन्धमा प्रमुख तीन दलबीच केही दिनअघि सहमति भएको थियो।

लामो समयदेखिको राजनीतिक गतिरोध अन्त्य गर्न संसद्लाई सञ्चालन गरेर सहयोग गर्न आग्रह गर्दै सभामुखले प्रमुख प्रतिपक्षले भने अनुसार आगामी बैठकमा संविधान संशोधनसम्बन्धी विधेयकलाई कार्यसूचीमा राख्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

सभामुखको आग्रहलाई प्रमुख प्रतिपक्ष दलका नेताले अटेर गर्दै आआफ्नो स्थानबाट उठेर लगातार विरोध जनाउभएपछि सभामुख घर्तीले प्रमुख प्रतिपक्ष दलले संसद्को बैठक अवरोध गरेका अवस्थामा बैठक चलाउन कठिन हुने भएको जनाउँदै शुक्रबार अपराह्न ३ बजे अर्को बैठक बस्ने घोषणाका साथ बैठक स्थगन गरेकी थिइन्।

प्रकाशन मिति–२०७२ मंसिर २४ गते विहीवार ।